प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा निर्माण भएको प्रादेशिक कृषि थोकबजार ।

हेटौंडाः बागमती प्रदेश सरकारको महत्वपूर्ण आयोजनाको रुपमा रहेको प्रादेशिक कृषि थोक बजार निर्माण अन्तिम चरणमा रहेको छ । प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा निर्माण भएको प्रादेशिक कृषि थोकबजार अन्तिम चरणमा पुगेको हो ।

प्रदेश सरकारको ७० र स्थानीय तहको ३० प्रतिशत लगानीमा बनेको उक्त थोक बजारको काम ४ प्रतिशत मात्र बाँकी रहेको छ । थोक बजार क्षेत्रका सडक र विद्युतकरणको काम बाँकी रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सो थोक बजार निर्माणका लागि हेटौंडा उपमहाजनगरपालिकाले ३० र ७० प्रतिशत लगानी प्रदेश सरकारले गरेको छ । २०७८ असार १८ मा बागमतीका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल र उपमहानगरकापालिकाका तत्कालिन मेयर हरिबहादुर महतले शिलान्यास गरेका थिए ।

२ विघा ४ धुर क्षेत्रफलमा तीनवर्ष लगाएर थोकबजार निर्माण गर्ने लक्ष्यसहित २०७७ भदौ १४ मा हेटौंडा उपमहानगरपालिकासँग सम्झौता भएको थियो । ९६ प्रतिशत भौतिक प्रगति भएको बजारको कार्यविधि बनाएर सञ्चालनको तयारी रहेको मन्त्रालयको भनाई छ । हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङमा मिर्नाण भएको उक्त कृषि थोक बजारमा ४ वटा सुविधासम्पन्न भवनहरु रहेका छन् भने एउटा कोल्ड स्टोर निर्माण गरिएको छ । सडक कालोपत्रे र अन्य सामान्य काम मात्रै गर्न बाँकी रहेको निर्देशनालयका सबइन्जिनियर मोदनाथ तिमीलसनाले जानकारी दिनुभयो ।

थोकबजारमा होलसेल मार्केट, रिटेलस मार्केट, किसानको टहरा, प्रशासनिक तथा क्यान्टिन, कोल्ड स्टोरेजलगायतका संरचना बनेका छन् । थोक बजारमा थोक खुद्र भवनमा २ वटा लिफ्टको सुविधा समेत रहेको छ । कार्गो र मानिसहरुको आवतजावतको लागि फरक फरक लिफ्टको सुविधा रहेको उनले बताए । थोक बजारको थोक मार्केटमा ४० वटा सटर र खुद्रा मार्केटमा २३ वटा सटर रहेको छ । भवनमा अण्डरग्राउण्ड पार्किङको सुविधा छ । भण्डारण, शीतभण्डार, प्याकिङ, ग्रेडिङ र प्रशोधन जस्ता कार्य गर्न सकिने गरी थोक बजार निर्माण गरिएको तिमल्सिनाले बताए ।

ए एन के/माउण्टेनले ३० करोड ८७ लाख ६२ हजार ७८७ रुपैयाँमा ठेक्का लिएको उक्त थोकबजार निर्माणको काम गत २०७८ जेठबाट थालिएको थियो । निर्माण कम्पनीलाई २६ करोड ५५ लाख ३५ हजार ९ सय ९६ रुपैयाँ गत असारमै भुक्तानी भएर थप २ करोड भन्दा बढीको भुक्तानीको चरणमा रहेको निर्देशनालयले जानकारी दिएको छ । २०८१ जेठसम्ममा सम्पन्न गर्नुपर्ने सम्झौतामा भएपनि विविध कारणल निर्धारित समयमा काम सम्पन्न हुन सकेको थिएन । निर्माणको काम सम्पन्न गर्नेगरी ७ महिना म्याथ थप गरेर आगामी मंसिर ८ सम्मको समय सिमा दिइएको थियो । चालु आर्थिक वर्ष २०८१/०८२ मा प्रदेश सरकारले थोक बजारको काम सम्पन्न गर्ने लागि ४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

हेटौंडा–१ स्थित राप्ती खोलाको नदी उकास जमिनमा हेटौंडा उपमहानगरपालिकाले तरकारी बजार निर्माण गरेको छ । सो बजारलाई व्यवस्थापन गर्ने गरी संचालनमा ल्याउने तयारी गरेको छ । बजार तयार भएर संचालनको अन्तिम चरणमा पुग्दा समेत कार्यविधि बनाउन सकेको छैन । कार्यविधि बनाएर संचालन मोडालिटी टुंग्याउने गृहकार्यमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय लागेको छ ।

थोकबजारको भौतिक संरचना तयार भएसँगै कार्यविधि निर्माणमा जुटेको मन्त्रालयका सचिव विनोद भट्टराईले बताउनुभयो । कार्यविधि बनाएर छिट्टै सञ्चालन गरिने उहाँको भनाई छ । भवन हस्तान्तरण हुनुअघि कार्यविधि बनाइसक्ने योजना रहेको उहाँले बताउनुभयो । सोही अनुसार कृषि विकास निर्देशनालयले काम गरिरहेको उहाँको भनाई छ । थोकबजारले किसानले श्रमको उचित मूल्य पाउने र बिचौलियाको समस्या हल हुने उहाँले बताउनुभयो ।