खसी कप फुटबलको उपाधिसाथ फ्रिडम व्याइजको टिम ।

हेटौँडाः हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको ३० औँ संस्करणको ८ ए साइड खसी कप फुटबल प्रतियोगिताको उपाधि फ्रिडम ब्वाइजले जितेको छ । पिप्ले युवा क्लबको आयोजनामा मंगलबार सम्पन्न भएको फाइनल खेलमा पिप्ले भेट्रान्स क्लबलार्ई १–० गोलअन्तरले हराउँदै फ्रिडम भेट्रान्सले उपाधि जितेको हो । फ्रिडमको जीतमा आयुष भोम्जनले निर्णायक गोल गरेका थिए । उनले खेलको दोस्रो हाफको २० औं मिनेटमा गोल गर्दै टिमलाई जिताएका हुन् ।

उपाधिसँगै फ्रिडम ब्वाईजले ३२ केजीको खसीसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता पिप्ले भेट्रान्सको टिमले ३० केजीको बोकासहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । हेटौँडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्य तथा पिप्ले युवा क्लबका अध्यक्ष सुविन घिमिरेको सभाध्यक्षमा पुरस्कार वितरण तथा समापन समारोह भएको थियो ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हुँदै फ्रिडमका निर्णय क्षेत्री र सर्वाधिक गोलकर्ता फ्रिडमका निरज ठकुरीले कुखुराको भाले प्राप्त गरेका छन् भने फाइनल खेलको म्यान अफ द म्याच हुन सफल भएका भोम्जनले ३ केजीको भाले प्राप्त गरेका छन् । ३० वर्षदेखि दसैंको अवसरमा खसी कप प्रतियोगिता आयोजना गर्दै आएको क्लबले पहिलो पटक ८ ए साइडमा प्रतियोगिता सञ्चालन गरेको हो ।