उपाधिसाथ पदमपोखरी युथ क्लबको टिम ।

हेटौँडाः मकवानपुर जिल्ला फुटबल संघको आयाजनामा भएको मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि पदमपोखरी युथ क्लबले जितेको छ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा शनिबार भएको फाइनल खेलमा बागमती गाउँपालिकाको सहिद स्मृति क्लबलाई ३–१ गोलअन्तरले हराउँदै हेटौँडाको पदमपोखरीले पहिलो पटक उपाधि जितेको हो ।

बागमतीको सहिद स्मृति लिगमा पहिलो पटक सहभागी भएको हो । फाइनल खेलको म्यान अफ त म्याच पदमपोखरीका विजेश तितुङ घोषित भए । प्रतियोगिताको उपाधि जितेसँगै पदमपोखरीले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको सहिद स्मृतिले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

पदमपोखरीको जितमा दिवस गोलेले पहिलो हाफको २४ औं मिनेटमा एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उप्रान्त आलेले पहिलो हाफकै ३९औं मिनेटमा सहिद स्मृतिको तर्फबाट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । पदमपोखरीका विजेश तितुङ्ले दोस्रो हाफको २१औं मिनेटमा गोल गर्दै टिमलाई पुनः अग्रता दिलाए । पदमपोखरीका अमीत स्याङ्तानले इन्जुरी समयमा थप १ गोल गर्दै पदमपोखरीको जितलाई निश्चित बनाए ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी पदमपोखरीका रोजक थिङ, फर्वार्ड सहिद स्मृतिका उप्रान्त अले मगर, प्रशिक्षक पदमपोखरीका ज्ञानु मुक्तान, मिडफिल्डर पदमपोखरीका नवराज थिङ, गोलरक्षक पदमपोखरीकै रोजक थिङ र उत्कृष्ट डिफेन्डर अरूण आले मगर घोषित भए । उनीहरुले ट्रफि प्राप्त गरेका छन् ।

मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाको सभाध्यक्षमा तथा बागमती प्रदेशकी निवर्तमान सामाजिक विकास मन्त्री तथा प्रदेश सभा सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यमा जिल्ला लिगको समापन तथा पुरस्कार वितरण समारोह भएको थियो । पुरस्कार वितरण समारोहमा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको पनि उपस्थिति रहेको थियो ।