
हेटौँडाः गाउँपालिका राष्ट्रिय महासंघको बागमती प्रदेश समितिले असोज ११ र १२ गते अविरल वर्षासँगै आएको बाढी र पहिरोबाट भएको क्षतिबारे बुझ्न अपील गरेको छ । शुक्रबार महासंघले एक अपील जारी गर्दै विपद्ले गरेको क्षतिपछि उद्दार, राहत, उपचार र पुनःस्थापनाका लागि तीनै तहका सरकारलाई अनुरोध गरेको छ ।
महासंघले विपद्मा परी मृत्यु हुनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना र घाइतेहरुप्रति शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । विपद्को क्षतिबाट स्थानीय सरकार पूर्णरुपमा प्रभावित भएकाले तीनै तहको सहकार्यमा उद्दार, उपचार, राहत एवम् पुनःस्थापनाको काम अघि बढाउन महासंघले आग्रह गरेको हो । महासंघले स्थानीय सरकारको क्षेत्रभित्र पर्ने राजमार्ग एवम् अन्य सडक क्षेत्रमा अलपत्र परेका यात्रुहरुको उद्दार एवम् खाना र बासका लागि सहजीकरण गर्नुका साथै आफ्नो स्रोतसाधनबाट गर्न सकिने सडक मर्मतको काममा तदारुकता देखाई आवतजावतको वातावरण तयार गर्न स्थानीय सरकारहरुलाई आग्रह गरेको छ ।
स्थानीय सरकारको क्षेत्रभित्र यस विपद्बाट भएको जनधन एवम् भौतिक संरचनाको क्षतिबारे यथाशिघ्र तथ्यांक संकलन गरी महासंघ एवम् तथ्यांक माग गरेका निकायहरुलाई चाँडोभन्दा चाँडो उपलव्ध गराउन, प्रभावित स्थानीय सरकारहरुलाई यथाशिघ्र राहत प्याकेजको घोषणा गरी तत्काल निकासा गर्न, विद्युत एवम् सञ्चार अवरुद्ध हटाउन, विपद्मा परी घाइते भएकाहरुको निःशुल्क उपचार, वर्षा अझै जारी रहेकोले घरविहिन हुन पुगेका परिवारलाई अस्थायी आवास, चाडवाडको समयमा अवरुद्ध राजमार्ग, सडक सुचारु गर्न समेत आग्रह गरेको छ ।