Home अर्थ/व्यापार विपद् प्रभावित पालिकालाई बागमती सरकारको ५ करोड ८० लाख रुपैयाँ

विपद् प्रभावित पालिकालाई बागमती सरकारको ५ करोड ८० लाख रुपैयाँ

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने

हेटौँडाः बागमती प्रदेश सरकारले विपद् प्रभावित स्थानीय तहलाई राहत तथा उद्धार कार्यका लागि आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद बैठकले विपद् प्रभावित ४५ स्थानीय तहहरुलाई ५ करोड ८० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले गत असोज ११ र १२ गतेको वर्षाका कारण विपद्बाट प्रभावित भएका स्थानीय तहलाई ३ वर्गमा विभाजन गरी राहत तथा उद्धार कार्य गर्न रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा रकम अभाव रहेकाले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट १० करोड रुपैयाँ रकम निकासा गरेर सो मध्येबाट ५ करोड ८० लाख रुपैयाँ स्थानीय तहलाई उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले विपद्बाट बढी प्रभावित ७ स्थानीय तहलाई २० लाख रुपैयाँ, १२ वटा स्थानीय तहलाई १५ लाख रुपैयाँ र २६ वटा स्थानीय तहलाई १० लाख रुपैयाँ सोझै पालिकाको विपद् व्यवस्थापन कोषमा पठाउने निर्णय भएको मन्त्री लामिछानेले बताउनुभयो ।

Exit mobile version