हेटौंडामा ७ ‘ए’ साइड फुटबल प्रतियोगिता सुरु ।

हेटौंडाः हेटौंडामा जारी ७ ‘ए’ साइड फुटबल प्रतियोगितामा शुक्रबार ४ खेल सम्पन्न भएको छ । भूटनदेवी क्लबको आयोजनामा भएको प्रतियोगितामा क्वार्टरफाइनल चरणको ४ खेल सम्पन्न भएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

हेटौंडा–१० स्थित वनविज्ञान क्याम्पसको चौरमा भएको पहिलो खेलमा कमलादेवी क्लबलाई १–० गोलले हराउँदै एफसी ढेडो सेमिफाइनलमा प्रवेश गरेको छ । ढेडोको जीतमा ललित चौलागाईंले निर्णायक गोल गर्दै म्यान अफ द म्याच घोषित भएका छन् ।

शुक्रबारको दोस्रो खेलमा चौकीटोल क्लबलाई २–० गोलले हराउँदै नागस्वती फुटबल एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ । नागस्वतीको जीतमा दुबै गोल सुरज राईले गरेका छन् । खेलको म्यान अफ द म्याच राई घोषित भएका छन् ।

यस्तै, तेस्रो खेलमा हेटौंडा फुटबल एकेडेमीलाई २–० गोलले हराउँदै कुमारी एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । कुमारी एफसीको जीतमा समुयल सुनारले दुई गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच सुनार घोषित भएका छन् ।

चौथो खेलमा कालीदेवी एफसीलाई २–० गोलले हराउँदै आयोजक भूटनदेवी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । भूटनदेवीको जीतमा सुरज लामाले दुई गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच रुपेश केसी घोषित भएका छन् ।

प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ । प्रतियोगितामा २३ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि विजेता र उपविजेता टिमले क्रमशः ५० हजार र २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।