हेटौंडाः तेस्रो संस्करणको ६ ए साइड वस्तुगत फुटसल प्रतियोगिता आज शनिबार हुने भएको छ । मकवानपुर अधिकृत बिक्रेता संघको आयोजनामा शनिबार वस्तुगत फुटसल प्रतियोगिता हुने भएको हो ।
शुक्रबार मकवानपुर अधिकृत बिक्रेता संघको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष अमीतकुमार श्रेष्ठले शनिबार एक दिन हुने प्रतियोगिताबारे जानकारी गराउनुभएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघको प्रायोजनमा हुन लागेको प्रतियोगितामा आयोजक बिक्रेता संघसहित मकवानपुर सुनचाँदी व्यवसायी संघ, मकवानपुर मुद्रण उद्योग संघ, मकवानपुर कुखुरा व्यवसायी संघ र मकवानपुर मदिरा व्यवसायी संघ गरी ८ वटा टिमको सहभागिता रहने अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।

प्रतियोगिता मकवानपुरगढी गाउँपालिकाको मक्राञ्चुलीस्थित फुटसल कोर्टमा हुनेछ । मकवानपुरका व्यावसायिक संघसंस्थामा आवद्ध व्यवसायीबीच दशै, तिहार, छठपर्व र नेपाल सम्वत्को शुभकामना आदानप्रदान गर्ने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गरेको उहाँले बताउनुभयो ।

गत वर्षको प्रतियोगिताको उपाधि मोेबाइल एसोसिएसन अफ मकवानपुरले जितेको थियो भने कम्प्युटर एसोसिएसन अफ मकवानपुर उपविजेता बनेको थियो । यस वर्षको संस्करणमा प्रतियोगिताको पुरस्कार राशि बढाइएको छ । प्रतियोगितामा सहभागी हुने टिमका लागि खाजाको प्रायोजन दाजुभाइ स्वीट्सले गरेको छ ।

प्रतियोगिताको विजेता टिमले ५० हजार र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिताको सबै खेल शनिबार नै हुनेछ ।