हेटौंडाः अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मकवानपुरका सबै खेलाडीहरुले पदक जितेका छन् । बंगलादेशको राजधानी ढाकामा अक्टोबर १ तारिखदेखि ४ तारिखसम्म भएको पहिलो संस्करणको साउथ एसियन स्कूल कम्ब्याक्ट–२०२४ (तेक्वान्दो प्रतियोगिता) मा मकवानपुर जिल्लाका ४ खेलाडीले पदक जितेका हुन् ।
नेपालको प्रतिनिधित्व गरेर प्रतियोगितामा सहभागी भएका मकवानपुरका खेलाडीले २ वटा रजत र ५ काँस्य पदक गरी ७ वटा पदक जितेका छन् । हेटौंडा उपमहानगरपालिकाका–१७ स्थित क्रियटिभ तेक्वान्दो डोजाङका आदित्य पराजलीले पुरुषतर्फ ४५ केजी कम तौल समूहको प्रतियोगितामा रजत र एकल पुम्सेमा काँस्य पदक जितेका छन् ।
४२ केजी कम तौल समूहमा इच्छा विष्टले रजत र ४८ केजी कम तौल समूहमा दिपन सापकोटाले कास्य पदक जितेका छन् । पुरुष एकल पुम्सेमा आदित्य पराजुलीले काँस्य पदक जित्दा महिला एकल पुम्सेमा आदित्या ढकालले काँस्य पदक हात पारेकी छिन् । महिलाको जोडी पुम्सेमा इच्छा विष्ट र आदित्या ढकालले काँस्य पदक जितेका हुन् । ४८ केजी कम तौल समूहमा दिपन सापकोटाले काँस्य पदक जितेका छन् ।
प्रतियोगितामा क्रियटिभ तेक्वान्दो डोजाङका सञ्चालक भोजराज पराजुली र आकाश चौधरीले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो । साउथ एसियन स्कूल फेडरेसनको आयोजना र बंगलादेश स्कूल स्पोर्टस् एसोसियनको सहकार्यमा भएको प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र बीकेएसपी गरी १ सय ३८ जना खेलाडी सहभागी थिए । मकवानपुरसहित नेपालको अन्य ठाउँहरुबाट २५ जना खेलाडीहरु प्रतियोगितामा सहभागी भएकामा नेपालले ११ पदक प्राप्त गरेसँगै नेपाल दोस्रो भएको छ ।
बंगलादेश त्रिरा सिखा प्रतिष्ठान बीकेएसपीको मल्टिपल स्पोर्टस् कम्प्लेक्समा भएको प्रतियोगितामा नेपाल स्कूल स्पोर्टस् फेडरेसनबाट तेक्वान्दो खेलाडी सहभागी भएका हुन् । बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाले मकवानपुरबाट सहभागी हुने खेलाडीलाई शुभकामनासहित बिदाई गर्नुभएको थियो ।