विद्यार्थीलाई पुरस्कार वितरण गरिँदै ।

हेटौँडाः हेटौँडा–४ स्थित श्रमिक माध्यमिक विद्यालयका विद्यार्थी पुरस्कृत भएका छन् । गत शैक्षिक सत्र २०८० को वार्षिक परीक्षामा कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई विद्यालयले शुक्रबार एक समारोहका बीच पुरस्कार वितरण गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्कीको अध्यक्षता तथा वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । विद्यार्थीलाई पुरस्कारस्वरुप शैक्षिक सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक श्रीराम दाहालले जानकारी दिनुभयो । पुरस्कार वितरण कार्यक्रमपछि दसैं शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो । कार्यक्रममा विद्यार्थीले नृत्य, गायन कला प्रस्तुत गरेका थिए । १० कक्षासम्म पठनपाठन हुने श्रमिक माध्यमिक विद्यालयमा छ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।