पत्रकारसँगको परिचयात्मक अन्तरक्रियामा सहभागी हुनुहुँदै प्रहरी उपरीक्षक विश्वराज खड्का ।

हेटौँडाः मकवानपुर जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका प्रहरी उपरीक्षक विश्वराज खड्काले शुक्रबार बिहान मकवानपुरका पत्रकारसँग परिचयात्मक अन्तरक्रिया गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालयको सभाकक्षमै परिचयात्मक अन्तरक्रिया भएको हो ।

पत्रकारसँगको अन्तरक्रियामा प्रहरी उपरीक्षक खड्काले जिम्मेवारी सम्हाले लगत्तै बाढी र पहिरोका घटनाले त्यता व्यस्त हुनुपरेको बताउनुभयो । प्रहरी उपरीक्षक खड्काले चाडपर्व लक्षित सुरक्षाको रणनीतिअनुसार काम गरिरहेको जानकारी दिनुभयो । हेटौँडा–काठमाडौं जोड्ने सडक सुचारु गर्न प्रहरी परिचालित हुनुपरेको प्रहरी उपरीक्षक खड्काले बताउनुभएको छ । उहाँले चाडपर्वका लागि यात्रुको सहजीकरणका लागि ४ स्थानमा हेल्पडेस्क राखेको जानकारी दिनुभयो ।

अन्तरक्रियामा सहभागी पत्रकारले प्रहरी प्रमुख फेरिएलगत्तै लागुऔष तस्करहरु पक्राउ पर्ने तर क्रमशः पक्राउ पर्न छाड्ने प्रवृत्तिका बारेमा प्रहरीको भूमिकाबारे आशंका व्यक्त गरेका थिए । यस्तै विभिन्न घटनामा प्रहरीले पर्याप्त र सहजरुपमा सूचना नदिएको पत्रकारले गुनासो गरेका थिए । प्रहरीले घटनाका विषयमा समयमै जानकारी दिन पत्रकारले आग्रह गरेका थिए ।