सांकेतिक तस्वीर ।

हेटौँडाः चितवन जिल्लाको रत्ननगर नगरपालिका–७, हात्ती प्रजनन केन्द्र खोरसारमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाहीको हरिपुर नगरपालिका–७ घर भई हाल हात्ती प्रजनन केन्द्रमा कार्यरत ४४ वर्षीय जद्दु सिंह थारु रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । बिहीबार थारुलाई अचानक जंगली हात्तीले आक्रमण गरेको थियो । थारु प्रजनन केन्द्रमा करारमा पछुवा पदमा कार्यरत रहेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै रामेछाप जिल्लाको तेमाल गाउँपालिका–६, ठूलो पर्सेल माथिल्लो छापमा एक जना पुरुषको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा ५७ वर्षीय दुधराज तामाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । तामाङ चोक्कटारबाट नेपालथोकतर्फ (पैदल हिँडी) जाने क्रममा तेमाल गाउँपालिका–९ मुप्पाटारको भालुखोलास्थित भुतेढुङ्गाबाट चिप्लिएर एक सय मिटर तल कोशी नदिको किनारमा खस्दा घाइते भएका थिए । घाइते तामाङको बिहीबार बिहान ६ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएकोे छ ।