लागुऔषध गाँजासहित पक्राउ परेका सुजन तामाङ ।

हेटौँडाः पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत हेटौँडा–१९, नेवारपानी चेकपोष्टबाट प्रहरीले १०७ किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाहा नगरपालिका–२, पालुङका २४ वर्षीय सुजन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

बिहीबार बिहान ४ बजेको समयमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौँडातर्फ जाँदै गरेको बा १२ च २८८५ नम्बरको बोलेरोलाई सुरक्षा जाँच गर्दा लागूऔषध गाँजा बरामद गरेको हो । प्रहरीले तामाङको शरीर तथा बोलेरो गाडीको ढाला भित्र लुकाई छिपाई ल्याइएको अवस्थामा गाँजा फेला परेको थियो । लागूऔषध, बोलेरो गाडीसहित तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेका प्रहरी जनाएको छ ।