कमल फुयाल, फोकल पर्सन, शिक्षा शाखा, मकवानपुरगढी गाउँपालिका

विद्यालय शिक्षाको जिम्मा स्थानीय सरकारलाई छ । विद्यालय शिक्षा व्यवस्थापनको जिम्मेवारी पाएको स्थानीय सरकारले उचित व्यवस्थापन गर्न नसकेको भनी आलोचना समेत भइरहेको छ । विद्यालय शिक्षाका बहुआयामलाई बुझ्ने र व्यवस्थापन गर्ने प्रयास पनि पालिकाहरुले गरेनन् भन्ने एकथरिको बुझाई छ । मकवानपुरको सन्दर्भमा पनि पालिकाहरुले शिक्षालाई प्राथमिकतामा राखेर काम गर्न सकेको देखिँदैन । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले भने आगामी ५ वर्षका लागि गाउँ शिक्षा योजना निर्माण गरेर कार्यान्वयन गर्ने तयारी गरिरहेको छ । यसैसन्दर्भमा मकवानपुरगढी गाउँपालिकाको शिक्षा शाखाका फोकल पर्सन कमल फुयालसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले कुराकानी गर्नुभएको छ ।

समाजः चालु शैक्षिक सत्रको समग्र शिक्षाको गतिविधि के कस्तो छन् ?
फुयालः
शैक्षिक सत्र प्रारम्भ हुने बित्तिकै गाउँ शिक्षा योजनालाई जोड दियौं । पञ्च वर्षे गाउँ शिक्षा योजनाको मस्यौदा निर्माणको हामी अन्तिम चरणमा पुगिसकेका छौँ । यस वर्ष गाउँ शिक्षा योजनालाई आधार बनाएर नीति तथा कार्यक्रम पनि आएका छन् । त्यहि नीति तथा कार्यक्रमका लागि कार्यविधि निर्माण र त्यसको कार्यान्वयनको कुराहरु अघि बढिरहेका छन् । यो योजना श्रावणको पहिलो साताबाट सुरु भयो । मकवानपुरगढी गाउँपालिकालाई नमुना शिक्षाको पालिका बनाउन यस वर्ष एसईई दिने विद्यार्थीलाई एक महिना बन्द प्रशिक्षणमा राख्यौं । बर्खे विदाको समयमा विद्यार्थीहरु घर बस्दा पठनपाठन प्रभावित हुने भएकोले हामीले त्यो समयमा गाह्रो भनिएका विषय अङ्ग्रेजी, विज्ञान र गणितको अतिरिक्त कक्षा सञ्चालन गर्याैँ ।

समाजः गाउँ शिक्षा योजनाको प्राथमिकता र मूल उद्देश्य के रहेको छ ?
फुयालः
यसको मुख्य उद्देश्य सीपयुक्त र दक्ष जनशक्तिको निर्माण गर्ने । यस अन्तर्गत रहेर विभिन्न कार्य गर्ने छौँ ।

सामाजः यस योजनाका लागि कस्तो प्रस्ताव राख्नु भयो ?
फुयालः
मकवानपुरगढी गाउँपालिकामा १० वटा माध्यमिक विद्यालय रहेका छन् । हामीले बुक फ्रि फ्राइडे अर्थात शुक्रबार विद्यार्थीको हातमा पुस्तक नहुने काठमाडौं महानगरको प्रयोगलाई पनि हेर्यौं । त्यहाँ १० वटा विधामा रहेर क्रियाकलापहरु गर्ने र प्रोजेक्ट वर्कहरु पनि दिने रहेछ । एक शैक्षिक सत्रमा ति बालबालिकाहरुले ९० घण्टाको ट्रेनिङ लिनुपर्ने थियो । हाम्रो अलि ढिला भएको कारण ९० घण्टा नपुग्न सक्छ । अहिले हामी ५ वटा विद्यालय छान्ने र मंसिरदेखि कार्यान्वयन गर्ने भनेर अघि बढेका छौँ ।

समाजः यस योजनाको बुझाई तपाईमा मात्र सीमित छ कि पालिकाको सबै जनप्रतिनिधिहरुको बुझाईमा स्पष्ट भएको छ ?
फुयालः
सबैको बुझाई फरक हुन्छ । तर शिक्षाको विषयमा जनप्रातिनिधिहरुसँग छलफल गर्दा सहकार्य र सहमति जनाउनु भएको छ ।

समाजः गाउँ शिक्षा योजनाको खाका कस्तो छ, कसरी तयार पार्नु भयो ?
फुयालः
पहिलेदेखि मैले यस विषयका जोड दिइरहेको थिएँ । जनप्रतिनिधिहरुले पनि मोरो प्रस्ताव स्विकार गर्नुभयो । हामीले २०८० सालको चैतदेखि पहिलो कार्यशाला गर्यौं । त्यो भन्दा अघिल्लो वर्ष सम्पूर्ण विद्यालयको वस्तुस्थिति के रहेछ त भनी अध्ययन प्रतिवेदन तयार गर्यौं । त्यसपछि हामीले शिक्षासँग सरोकार राख्ने व्यक्तिहरु र जनप्रतिनिधिहरुसँग पनि कार्यशाला गरेका थियौँ । त्यसमा जनप्रतिनिधिको सक्रियता अझ धेरै रहेको थियो । यस्तै कार्यक्रमहरुको निश्कर्षबाट योजना बनाएका छौँ र अब केहि दिन भित्र अन्तिम खाका पनि तयार हुने छ ।

समाजः पञ्च वर्षे योजनको लागत कति अनुमान गरिएको छ ?
फुयालः
हामी यस वर्षबाट नै कार्यान्वयनमा गइसकेका छौं । गाउँ शिक्षा योजना र नीति तथा कार्यक्रम बनाउनु भन्दा अगाडि लागु भएको कारण हामीले नीति तथा योजना निर्माणमा यस योजनालाई सहयोग पुग्ने हिसाबले ४ करोडको बजेट शिक्षामा छुट्याएका छौँ । पहिलेको बजेट हेर्दा केवल १ करोड ९० लाख हाराहारी मात्र शिक्षाका लागि रहन्थ्यो भने यस योजनालाई मध्यनजर गरी यति बजेट पारित गरिएको छ ।

समाजः गाउँ शिक्षा योजना कार्यान्वयन हुँदै गर्दा विद्यालयमा के–के नयाँ कुराहरु रहन्छ ? भौतिक र अभौतिक ।
फुयालः
भौतिक कुरा निरन्तर भइरहने कुरा रहेछ । खासगरी शिक्षकको क्षमता विकास र बालबालिकाको सिकाई उपलब्धिमा बृद्धिसँग बढी जोडिएका कुराहरु रहेका छन् । हाम्रो कार्यक्रमको महत्वपूर्ण कुरा भनेको दुर्गम भत्ताको व्यवस्था पनि गरेका छौँ । यसले शिक्षकहरुमा थप उर्जा पनि उत्पन्न होस् भन्ने रहेको छ । यस्तै अर्काे भनेको महिला शिक्षकहरुको सुत्केरी हुने अवस्थामा सुत्केरी सट्टा शिक्षक राख्ने जसले गर्दा सुत्केरी शिक्षकहरुलाई चिन्ता नहोस् र विद्यार्थीहरुको पढाइमा पनि प्रभावित नहोस् ।

समाजः योजना कार्यान्वयनको क्रममा कस्ता जनशक्तिको आवश्यकता पर्छ ? त्यसको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
फुयालः
गाउँ शिक्षा योजना कार्यान्वयनका लागि मेन्टरिङ शिक्षक राख्नु पर्ने भन्ने छ । एक जना विद्यालय निरीक्षक भनी राखिएको छ । सो व्यक्तिले एक दिनमा सबै विद्यालयको निरीक्षण गर्न सक्दैन । यस विषयलाई मध्ये नजर गरेर केही बाह्य स्रोतबाट पनि सहयोग लिनुपर्ने हुन सक्छ । तर, हामी जनशक्तिका हिसावले कुनै कमजोरी रहने अवस्था नहोला भन्ने ठानेका छौं ।

समाजः गाउँ शिक्षा योजना कार्यान्वयनका लागि कस्तो टिम तयार गरिएको छ ?
फुयालः
जिम्मेवारी लिने शिक्षा शाखा प्रमुख हुनुहुन्छ । मेन्टर शिक्षक पनि परिचालन गर्ने रहन्छ । जसमा एउटा मेन्टर शिक्षक अन्तर्गत ४/५ वटा विद्यालय पर्ने छ । मेन्टर शिक्षक त्यहि पालिकाको विज्ञ शिक्षक पनि हुन सक्नु भयो वा सेवा निवृत्त हुनुभएका विज्ञ शिक्षक पनि हुने हुनुभयो । वहाँहरु हरेक दिन त्यो विद्यालय पुग्नुहुन्छ । त्यहाँ रहेर सो मेन्टरले शिक्षक विद्यार्थीसँग बसेर पढाईमा सहयोग गर्नुहुन्छ । हरेक दिन कक्षामा बसेर नै सुधार्नुपर्ने कुरा बुझाउने गर्नुहुन्छ ।