हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा कृषितर्फ ८० प्रतिशत योजना सम्पन्न गरेको छ । उपमहानगरपालिकाले कृषि तर्फमा विभिन्न महत्वपूर्ण योजनाहरु पुराएको जानकारी दिएको छ । कोरोना भाइरसको कारण गरिएको लकडाउन र अन्य कारणले गर्दा कृषिका २० प्रतिशत काम भने हुन नसकेको उपमहानगरपालिकाले जानकारी दिएको छ ।

चालु आर्थिक वर्षमा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाहरुमा ७१ वटा जैविक तरकारी प्लाष्टिक हाउस (टनेल) निर्माण सम्पन्न भएको उपमहानगरपालिकाका कृषि शाखा प्रमुख दुर्गाप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उपमहानगरपालिकाको चालु आर्थिक वर्षको २८ लाख ४० हजार बजेटमा टनेल निर्माण कार्यक्रम सम्पन्न भएको हो । कृषक समुह र वडाहरु मार्फत कार्यक्रम सम्पन्न गरिएको कृषि शाखा प्रमुख न्यौपानेले बताउनुभयो । टनेल निर्माणको साथै चालु वर्षमा उपमहानगरपालिकाले फुल खेति, मेवा खेति र कागती खेति पनि सम्पन्न गरिएको जनाएको छ । हेटौंडा उपमहानगरपालिकाले सिंचाईतर्फ पनि ३५ लाख बजेटको कार्यक्रम सम्पन्न भएको जनाएको छ । सिंचाई संरचनाहरु निर्माण तथा मर्मत सम्भारका लागि २६ वटा समुह तथा सहकारीहरु मार्फत कार्यक्रम सञ्चालन भएको हो । सो कार्यक्रमबाट ६ सय किसानहरु लाभान्वित भएको उपमहानगरपालिकाले जानकारी दिएको छ ।

हेटौंडा-१७ मा बीउ आलु उत्पादन कार्यक्रम सम्पन्न भएको जानकारी दिएको छ । चालु आर्थिक वर्षको ३ लाख बजेटमा सम्पन्न कार्यक्रमबाट ५० जना कृषक लाभान्वित भएका हुन् । त्यस्तै उपमहानगर क्षेत्र भित्र ६ स्थानहरुमा माटो परिक्षण शिविर सम्पन्न भएको छ । कुल ३ लाख बजेटमा सम्पन्न भएको शिविरबाट ५ हजार किसान लाभान्वित भएको उपमहानगरपालिकाले जनाएको छ । नगरमा बृहत कृषि मेला प्रदर्शनी कार्यक्रम सम्पन्न गर्नुको साथै उपमहानगरपालिका २ जनालाई उत्कृष्ट कृषक छनोट गरी नगद १\१ लाख पुरस्कार प्रदान गरेको छ । यस कार्यक्रमले कृषि क्षत्रको विकासमा टेवा पुग्ने उपमहानगरपालिकाले बताएको छ ।

हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा नगरका विभिन्न वडाहरुमा माटो उर्वर बनाउनको लागि ४० टन कृषि चुन वितरण गरेको छ । चालु आर्थिक वर्षको ४ लाख बजेटमा नगरका २ वटा कृषि फार्म मार्फत फलफुल तथा घास नर्सरी सञ्चालन गरिएको छ । त्यस्तै वडा नम्बर ६ र १७ मा नेटहाउस निर्माण सम्पन्न भएको छ । उक्त कार्यक्रमको लागि उपमहानगरपालिकाले २ लाख बजेट विनियोजन गरेको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा वडा नम्बर ३ मा प्लाष्टिक घरमा च्याउ खेती, कृषि उत्पादन प्रदर्शन, कृषक पाठशाला कार्यक्रम सम्पन्न भएको छ । यस्तै अनुदानमा बीउ, तरकारीहरु र विभिन्न अन्नहरुको बीउ वितरण गरिएको हेटौंडा उपमहानगरपालिकाका कृषि शाखा प्रमुख दुर्गाप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।