मकवानपुरको मनहरी गाउँपालिकाका किसानलाई गाउँपालिकाले कृषि औजार वितरण गरेको छ । गाउँपालिकाले अनुदानमा कृषि सहकारी र कृषक समूहमार्फत किसानले प्रयोग गर्ने गरी कृषि औजार वितरण गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।
गाउँपालिकाले ३ लाख ६३ हजार रुपैया लागतमा ६६ थान स्प्रे पम्प, ४ लाख ८० हजार रुपैयाँ लागतमा ३ थान रोटाभेटर, ३ लाख लागतमा ३ थान हाते ट्याक्टर र ४१ थान टनेल पाइप वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको कुल २४ लाख ६० हजार र कृषकको १४ लाख ३५ हजार रुपैयाँ गरी कुल ३८ लाख ९५ हजार रुपैयाँ बराबरको कृषि औजार वितरण गरिएको हो । यस्तै गाउँपालिकाले सिचाईका लागि ३ लाखको लागतमा १४ थान मोटर र माछापालनतर्फ १५ लाख रुपैयाँ बजेटबाट माछाको भुरा, जाली, पानी तान्ने मोटर, दाना लगायत सामाग्री वितरण भैरहेको अध्यक्ष उप्रेतीले उल्लेख गर्नुभएको छ ।
त्यस्तै मकवानपुरको गाउँपालिकाले पालिकाभित्रका खरको छाना भएका दुई सय घरलाई जस्तापाता वितरण गर्न सुरु गरेको छ । जनता आवास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा न्युन आय भएका र खरको छाना भएकाहरुलाई जस्तापाता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो । आगामी वर्षहरुमा मनहरी गाउँपालिकालाई खरको छानामुक्त बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उप्रेतीले बताउनु भयो । गाउँपालिकाले ४० लाख रुपैयाँको जस्तापाता खरिद गरेर वितरण गर्न सुरु गरेको छ ।