राष्ट्रबैंकका गभर्नरसँगको भेटवार्तामा मकवानपुरका व्यवसायी ।

मकवानपुरका व्यवसायीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सोमबार भेटेर आफ्ना समस्या राखेका छन् । लकडाउनका कारण व्यापार, व्यवसाय ठप्प हुदा बैंकलाई तिर्नुपर्ने किस्ता र व्याज रकम भुक्तानी गर्न नसकिरहेका बेला बैंकले ताकेता गरिरहेको भन्दै मकवानपुरका व्यवसायीले गभर्नरलाई बैंक किस्ताको पुनर्तालिकीकरण गर्नुपर्ने, व्याज भुक्तानीको समयावधि बढाउनुपर्ने, व्याजदर घटाउनुपर्ने लगायतका माग राखेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिनुभयो ।

व्यवसायीसँगको भेटमा राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले किस्ता रकम र व्याज रकम भुक्तानी गर्न नसक्ने व्यवसायीले चिन्ता नगर्न र दबाव दिए राष्ट्र बैंकका निर्देशकलाई जानकारी गराउन, लिखित उजुरी दिन आग्रह गर्नुभएको छ । निजी क्षेत्रका व्यवसायीका समस्यालाई राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत सम्बोधन गर्ने आश्वासन पनि गभर्नर अधिकारील दिनुभएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले बताउनुभयो । व्यवसायीका समस्यालाई लिएर केही समययता मकवानपुर उद्योग वाणिज्य संघको समन्वय एवम् संयोजनमा व्यवसायी आन्दोलित बनेका छन् । शुक्रबार हेटौंडाको बुद्धचोकमा बैंक तथा वित्तीय संस्थाविरुद्ध प्रदर्शनमा उत्रिएका व्यवसायीले गभर्नरलाई भेट्ने बताएका थिए ।

सोमबार राष्ट्रबैंकका गभर्नरलाई भेट्ने क्रममा मकवानपुरबाट निर्वाचित संघीय संसदका अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, पूर्वअर्थ मन्त्री सुरेन्द्र पाण्डे पनि मकवानपुरका व्यवसायीको साथमै थिए । सिंहदरबारस्थित संसद सचिवालयस्थित अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालकै कार्यकक्षमा राष्ट्रबैंकका गभर्नरसँग मकवानपुरका व्यवसायीले छलफल गरेका थिए । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश समितिका अध्यक्ष दिनेश श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला–नगर उपाध्यक्ष किशोर प्रधान, पुरानो नारायणी यातायात व्यवसायी संघका सरोज खनाल, र गुणराज घिमिरे, उद्योग संघ मकवानपुरका शिवहरी आचार्यको पनि उपस्थिति रहेको थियो ।