हेटौँडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख ललितबहादुर घलानलाई पुत्रशोक परेको छ । शनिबार बिहान पहिरोमा परी मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीमा जिसस प्रमुख घलानका छोरा अनुपम घलानको मृत्यु भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिस्नेरीस्थित बात्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालन गरेको एकेडेमीमा आवद्ध अनुपमको शनिबार बिहान विद्यालयमा बाढीको जोखिम रहने भनी सुरक्षित स्थानतर्फ जाने क्रममा पहिरोमा परेर मृत्यु भएको हो । एन्फा मकवानपुरका अध्यक्ष तथा एन्फा केन्द्रीय समिति सदस्य समेत रहनुभएका टिकराम लामाले घलानलाई पुत्रशोक परेको जानकारी दिनुभयो । अनुपम ललितबहादुर घलानका एक्लो सन्तान थिए ।

अनुपमसहित ६ जनाको पहिरोमा परेर मृत्यु भएको छ । मृत्यु हुनेमा सिस्नेरीकै दिवस बानियाँ, मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका साइमन योञ्जन, बारा जिल्लाका विकल रेग्मी, सर्लाही जिल्लाका आदित्य बलपाकी र काठमाडौंका रियान्स आचार्य रहेका छन् । एकेडेमीमा ४० जना किशोर फुटबल सिक्दै आएका थिए । गत बैशाखदेखि एन्फाले सिस्नेरीमा एकेडेमी सञ्चालन गर्दै आएको थियो ।

एकेडेमीका ३४ जना भने सुरक्षित स्थानमा छन् । प्रशासनको सहयोग र सहजीकरणमा एन्फा एकेडेमीका ३४ जना किशोरसहित मृतक ६ किशोरको शव पनि शनिबार साँझ हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । बाढी र पहिरोका कारण सिस्नेरीबाट सडकमार्ग हुँदै जिल्ला सदरमुकाम हेटौँडा अथवा काठमाडौं पुग्न सक्ने अवस्था छैन ।