बाढीले क्षति पुर्याएको सिमखोलाको पुल र सडक ।

हेटौँडाः हेटौँडा–काठमाडौं छोटो बाटोअन्तर्गत ईन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलविद्युत आयोजनाको ड्यामभन्दा तल रहेको सिमखोलाको पुलमा बाढीले क्षति पुगेको छ । कुलेखानी जलविद्युत आयोजनाको जलाशयबाट छाडिएको पानीको बहावले पुलको एक स्पान र उत्तरतर्फको बाटो एक सय मिटरभन्दा बढी बगाएको छ ।

ईन्द्रसरोवर गाउँपालिका २ नम्बर वडा अध्यक्ष सुमन श्रेष्ठले कुलेखानी ड्याम तल रहेको सिमखोला पुलको एक स्पान र उत्तरतर्फबाट बाटो झण्डै एक सय मिटरभन्दा बढी बगाएको जानकारी दिनुभयो । वडा अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा सिमखोला पुलमा पुगेको क्षतिको भिडियो समेत सार्वजनिक गर्नुभएको छ । भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा ठूलो क्षति भएको र सडक सुचारु हुन समय लाग्ने जानकारी दिनुभएको छ ।