हेटौँडाः कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा ४ घण्टाको अवधिमा २ मिटर पानी भरिएको छ । शुक्रबार साँझ ५ः३० बजे १ हजार ५२६ मिटर जल सतह मापन गरिएको कुलेखानीमा ४ घण्टामा २ मिटर पानी भरिएको हो ।
राती ९ बजेर २० मिनेटको समयमा कुलेखानीमा जल सतह १ हजार ५२७.९५ मिटर मापन गरिएको कुलेखानी जलविद्युत आयोजना (प्रथम) का प्रमुख तारादत्त भट्टले जानकारी दिनुभएको छ । उहाँका अनुसार कुलेखानीमा प्रतिघण्टा ३० सेन्टिमिटर पानी भरिँदै आएको छ । कुलेखानी जलाशय भरिन अब २ मिटर मात्र बाँकी रहेको उहाँले जानकारी दिनुभएको छ ।
कुलेखानीमा एक हजार पाँच सय ३० मिटर पानी भण्डारण गर्ने क्षमता रहेको छ । सो क्षमता बन्दा बढी पानी जम्मा भएपछि कुलेखानी स्वतः ओभफ्लो हुन्छ । आयोजना प्रमुख भट्टका अनुसार कुलेखानी जलाशयको सतह घटाउन विद्युत उत्पादन निरन्तर गरिएको छ भने जलाधार क्षेत्रको एउटा खोला डाइभर्ट गरिएको छ ।
जलाशयमा पानी घटाउन ६० मेगावाट क्षमताको कुलेखानी जलविद्युत आयोजना संचालन गरिएको छ भने जलाधार क्षेत्रको सिमखोलालाई डाइभर्ट गरिएको उहाँले जानकारी दिनुभयो । सिमखोलाको ढोका बन्द गरेर जलाशयमा पानी आउन रोकिएको उहाँको भनाई छ । सो खोला बन्द गरिएसँगै जलाशयमा प्रतिघण्टा पानी संकलन दर २० सेन्टिमिटर रहेको छ ।











