हेटौँडाः मुलुकको पावर व्याकअपको रुपमा रहेको कुलेखानी जलविद्युत केन्द्रको जलाशय ईन्द्रसरोवर ताल भरिने भएको छ । ईन्द्रसरोवर तालको जलाधार क्षेत्रमा वर्षा भएका कारण कुलेखानी जलाशय भरिने अवस्थामा पुगेको केन्द्रका अधिकारीले जानकारी दिएको छ । जलाशय भरिएर पानी बाहिरिने सम्भावना भएकोले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन कुलेखानी प्रथम जलविद्युत केन्द्रले सूचित गरेको छ ।
ईन्द्रसरोवर तालमा समुन्द्री सतहदेखि एक हजार पाँच सय २९ दशमलव ९० मिटरसम्म पानी जम्मा गर्न सकिन्छ । अहिले शुक्रबार साँझ ५ बजेसम्ममा कुलेखानी जलविद्युत केन्द्रको तालमा एक हजार पाँच सय २६ दशमलव ३० मिटर पानीको सतह रहेको केन्द्रले जनाएको छ । केन्द्र प्रमुख तारादत्त भट्टका अनुसार प्रतिघण्टा ३० सेन्टिमिटरको दरले जलाशयको सतह बढ्दै गएको र अझै वर्षाको हुने पूर्वानुमानअनुसार पानी भरिने र पानीको सतह बढेर बाँधबाट पानी बाहिर छाड्नुपर्ने अवस्था आउन सक्ने जानकारी दिनुभयो ।
पानीको सतह भरिएर बाहिरिँदा तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचित गर्दै प्रहरी प्रशासनलाई पनि जानकारी गराइसकेको उहाँले बताउनुभयो । जलविद्युत केन्द्रको सूचनाकै आधारमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र गाउँपालिकाको कार्यालयले सतर्कता अपनाउन सूचित गरेको छ ।
