हेटौँडाः हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको कुलेखानी–फाखेल–काठमाडौं सडक सूचारु भएको छ । पहिरोका कारण अवरुद्ध उक्त सडक पहिरो पन्छाएर संचालनमा ल्याइएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्थानीय तह, प्रहरी र सडक विभागको समन्वयमा पहिरो पन्छाएर सडक संचालनमा ल्याइएको हो । सो सडक खण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा शुक्रबार पहिरो खस्दा सवारी आवागमन ठप्प भएको थियो ।
अविरल वर्षाका कारण शुक्रबार बिहान साढे ९ बजेको समयमा पहिरो खसेर बाटो अवरुद्ध भएको थियो । पहिरोका कारण बिहीबारबाट बन्द भएको कान्ति लोकपथ भने संचालनमा ल्याउन सकिएको छैन । निरन्तर वर्षा भइरहेकाले बकैया–१२ घट्टेपाखामा खसेको पहिरो हटाउन समस्या भइरहेको प्रहरीको भनाई छ ।