हेटौंडाः काठमाडौंको दशरथ रंगशालमा भोलि शनिबार हुन लागेको १६ औं काठमाडौं म्याराथन प्रतियोगितामा सहभागी हुने हेटौँडाका खेलाडीहरुको बिदाइ गरिएको छ । बिहीबार नगर खेलकुद विकास समितिले एक समारोहका बीच हेटौंडाका २० जना खेलाडीहरुलाई बिदाइ गरेको हो ।
नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्रप्रसाद घिमिरेको उपस्थितिमा बिदाइ कार्यक्रम भएको हो । हेटौंडाका विभिन्न विद्यालयबाट १६ औं संस्करणको काठमाडौं म्याराथनमा सहभागी हुने खेलाडीलाई ट्रयाकसुट पनि प्रदान गरिएको छ । नगर खेलकुद विकास समितिले खेलाडीहरुलाई बिदाइ गरेसँगै खेलाडीहरुसँगै नै टिमकोच तथा प्रशिक्षक राजाराम पोखरेल पनि काठमाडौं जानुभएको छ ।
एनआरएस स्पोर्टस् फाउण्डेसनको आयोजना तथा इन्ड्राइभको सहकार्यमा हुने प्रतियोगितामा हेटौंडाका खेलाडीहरु ५ किलोमिटर र ३ किलोमिटरको दौडमा सहभागी हुनेछन् । १२ वर्षभन्दा अधिक उमेर समूहका खेलाडीहरुलाई प्राथमिकता दिएर हरेक वर्ष प्रतियोगिता आयोजना गर्ने गरेको प्रशिक्षक पोखरेलले बताउनुभयो ।
गत वर्षको तुलनामा यो वर्ष हेटौंडाबाट प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको संख्यामा वृद्धि भएको उहाँले बताउनुभयो । काठमाडौं म्याराथन प्रतियोगिताका लागि प्रशिक्षक पोखरेलले हेटौंडाका ४६ जना खेलाडीलाई किकफिट सर्किट प्रशिक्षणमा सहभागी गराउनुभएको थियो ।
करिब ४ महिनाको प्रशिक्षणपछि हेटौंडाबाट २० जना खेलाडीहरुलाई छनोट गरेर प्रतियोगितामा सहभागी गराउन सफल भएको प्रशिक्षक पोखरेलले बताउनुभयो । साँझ ५ बजेदेखि साढे ६ बजेसम्म सञ्चालन भएको किकफिट सर्किट प्रशिक्षणमा नियमित सहभागी हुने, खेलप्र्रति रुचि देखाउने र लगनशील भएर प्रशिक्षणमा सहभागी भएका खेलाडीहरुलाई प्राथमिकतामा राखेर छनोट गरेको उहाँको भनाइ छ । गत वर्षको प्रतियोगितामा १३ जना छात्रा र २ जना छात्र खेलाडीहरु सहभागी हुने उहाँले बताउनुभयो ।
करिब ४ महिना सञ्चालन भएको प्रशिक्षणमा सहभागी भएका खेलाडीहरुलाई साताको ५ दिन प्रशिक्षण दिने गरेको र शनिबार हेटौंडाको क्याम्पाडाँडामा दौडाउने गरेको उहाँले जानकारी दिनुभयो । असार महिनाबाट सुरु गरेको किकफिट प्रशिक्षणको सुरुवातमा हेटौंडा नगरभित्रका ५० जना खेलाडीहरु सहभागी भएकोमा ४ जना खेलाडीले प्रशिक्षण छाडेका थिए । प्रशिक्षणमा ३६ जना छात्रा र १० जना छात्र खेलाडीहरु सहभागी भएपनि छात्राहरु मात्र प्रतियोगितामा सहभागी हुँदैछन् ।
खेलप्रति रुचि भएका र धावक बन्न इच्छा भएका खेलाडीहरुलाई लक्षित गरेर नेपालको ८ वटा सहरहरुमा किकफिट प्रशिक्षण सञ्चालन हुने गरेको बताउनुहुँदै प्रशिक्षक पोखरेलले भन्नुभयो, “जसअन्तर्गत हेटौंडाका खेलाडीलाई प्रतियोगितामा सहभागी गराउनका लागि प्रशिक्षणमा सहभागी गराएका थियौं । त्यही अनुसार हामीले खेलाडीलाई सहभागी गराउन सफल भएका हौं ।” हप्ताको ५ दिन सञ्चालन भएको प्रशिक्षणमा बालबालिका एवम् धावकलाई सम्भावित चोटपटकबाट बच्नेबारे पनि जानकारी गराइएको थियो ।
प्रशिक्षणको माध्यमबाट खेलाडीहरुको मनोबल बढ्ने, स्वस्थ हुने, आत्मबल बढ्ने, प्रतिस्पर्धा गर्नसक्ने क्षमता बढ्ने तथा विभिन्न प्रकारको नकारात्मक कामबाट बच्ने बताइएको छ । नेपालको काठमाडौं, पोखरा र पाटन महानगरपालिका, बुटवल र हेटौंडा उपमहानगरपालिका एवम् मध्यपुर थिमी र कीर्तिपुर नगरपालिकाका छात्रा र छात्र खेलाडीहरुको प्रतियोगितामा सहभागिता रहने बताइएको छ ।