Home खेलकुद काठमाडौं म्याराथनमा हेटौँडाका २० खेलाडी सहभागी हुने

काठमाडौं म्याराथनमा हेटौँडाका २० खेलाडी सहभागी हुने

हेटौंडाः काठमाडौंको दशरथ रंगशालमा भोलि शनिबार हुन लागेको १६ औं काठमाडौं म्याराथन प्रतियोगितामा सहभागी हुने हेटौँडाका खेलाडीहरुको बिदाइ गरिएको छ । बिहीबार नगर खेलकुद विकास समितिले एक समारोहका बीच हेटौंडाका २० जना खेलाडीहरुलाई बिदाइ गरेको हो ।

नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्रप्रसाद घिमिरेको उपस्थितिमा बिदाइ कार्यक्रम भएको हो । हेटौंडाका विभिन्न विद्यालयबाट १६ औं संस्करणको काठमाडौं म्याराथनमा सहभागी हुने खेलाडीलाई ट्रयाकसुट पनि प्रदान गरिएको छ । नगर खेलकुद विकास समितिले खेलाडीहरुलाई बिदाइ गरेसँगै खेलाडीहरुसँगै नै टिमकोच तथा प्रशिक्षक राजाराम पोखरेल पनि काठमाडौं जानुभएको छ ।

एनआरएस स्पोर्टस् फाउण्डेसनको आयोजना तथा इन्ड्राइभको सहकार्यमा हुने प्रतियोगितामा हेटौंडाका खेलाडीहरु ५ किलोमिटर र ३ किलोमिटरको दौडमा सहभागी हुनेछन् । १२ वर्षभन्दा अधिक उमेर समूहका खेलाडीहरुलाई प्राथमिकता दिएर हरेक वर्ष प्रतियोगिता आयोजना गर्ने गरेको प्रशिक्षक पोखरेलले बताउनुभयो ।

गत वर्षको तुलनामा यो वर्ष हेटौंडाबाट प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको संख्यामा वृद्धि भएको उहाँले बताउनुभयो । काठमाडौं म्याराथन प्रतियोगिताका लागि प्रशिक्षक पोखरेलले हेटौंडाका ४६ जना खेलाडीलाई किकफिट सर्किट प्रशिक्षणमा सहभागी गराउनुभएको थियो ।
करिब ४ महिनाको प्रशिक्षणपछि हेटौंडाबाट २० जना खेलाडीहरुलाई छनोट गरेर प्रतियोगितामा सहभागी गराउन सफल भएको प्रशिक्षक पोखरेलले बताउनुभयो । साँझ ५ बजेदेखि साढे ६ बजेसम्म सञ्चालन भएको किकफिट सर्किट प्रशिक्षणमा नियमित सहभागी हुने, खेलप्र्रति रुचि देखाउने र लगनशील भएर प्रशिक्षणमा सहभागी भएका खेलाडीहरुलाई प्राथमिकतामा राखेर छनोट गरेको उहाँको भनाइ छ । गत वर्षको प्रतियोगितामा १३ जना छात्रा र २ जना छात्र खेलाडीहरु सहभागी हुने उहाँले बताउनुभयो ।

करिब ४ महिना सञ्चालन भएको प्रशिक्षणमा सहभागी भएका खेलाडीहरुलाई साताको ५ दिन प्रशिक्षण दिने गरेको र शनिबार हेटौंडाको क्याम्पाडाँडामा दौडाउने गरेको उहाँले जानकारी दिनुभयो । असार महिनाबाट सुरु गरेको किकफिट प्रशिक्षणको सुरुवातमा हेटौंडा नगरभित्रका ५० जना खेलाडीहरु सहभागी भएकोमा ४ जना खेलाडीले प्रशिक्षण छाडेका थिए । प्रशिक्षणमा ३६ जना छात्रा र १० जना छात्र खेलाडीहरु सहभागी भएपनि छात्राहरु मात्र प्रतियोगितामा सहभागी हुँदैछन् ।

खेलप्रति रुचि भएका र धावक बन्न इच्छा भएका खेलाडीहरुलाई लक्षित गरेर नेपालको ८ वटा सहरहरुमा किकफिट प्रशिक्षण सञ्चालन हुने गरेको बताउनुहुँदै प्रशिक्षक पोखरेलले भन्नुभयो, “जसअन्तर्गत हेटौंडाका खेलाडीलाई प्रतियोगितामा सहभागी गराउनका लागि प्रशिक्षणमा सहभागी गराएका थियौं । त्यही अनुसार हामीले खेलाडीलाई सहभागी गराउन सफल भएका हौं ।” हप्ताको ५ दिन सञ्चालन भएको प्रशिक्षणमा बालबालिका एवम् धावकलाई सम्भावित चोटपटकबाट बच्नेबारे पनि जानकारी गराइएको थियो ।

प्रशिक्षणको माध्यमबाट खेलाडीहरुको मनोबल बढ्ने, स्वस्थ हुने, आत्मबल बढ्ने, प्रतिस्पर्धा गर्नसक्ने क्षमता बढ्ने तथा विभिन्न प्रकारको नकारात्मक कामबाट बच्ने बताइएको छ । नेपालको काठमाडौं, पोखरा र पाटन महानगरपालिका, बुटवल र हेटौंडा उपमहानगरपालिका एवम् मध्यपुर थिमी र कीर्तिपुर नगरपालिकाका छात्रा र छात्र खेलाडीहरुको प्रतियोगितामा सहभागिता रहने बताइएको छ ।

Exit mobile version