हेटौंडाः बागमती प्रदेश सरकार अन्तर्गतको ५ निकायमा सचिव स्तरको पद रिक्त रहेको छ । कर्मचारी व्यवस्थापनमा प्रदेश सरकारले उचित ध्यान दिन नसक्दा सचिवहरु सरुवा भएर गए पनि आउन सकेका छैनन् । प्रदेश सरकार अन्तर्गतका ५ निकायमा संघीय सरकारले सचिव नपठाउँदा केही निमित्तको भरमा चलेको छ भने केहीले दोहोरो जिम्मेवारीमा कामकाज चलाइरहेका छन् । प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिव रिक्त रहेको छ भने प्रदेशको महत्वपूर्ण संरचना लोकसेवा आयोगको सचिवसमेत तोक्न सकिएको छैन ।
प्रदेश नीति तथा योजना आयोग, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा सचिव नियुक्ति हुन सकेको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको शासकीय सुधार महाशाखा सचिवविहिन भएको २ महिना हुन लागेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको शासकीय सुधार महाशाखाको सचिव हुमकला पाण्डे संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएपछि अर्को सचिव तोकिएको छैन । पाण्डेको २०८१ साउन ३२ मा सरुवा भएको थियो । उहाँको सरुवा भएको २ महिना हुन लागे पनि नयाँ सचिव खटाउन सकिएको छैन ।
सचिव पाण्डे सरुवा भएसँगै रमाना बुझेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय हाजिर भइसक्नु भएको छ भने सोही दिन प्रदेश सरकार अन्तर्गतको लोकसेवा आयोग, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, प्रदेश नीति तथा योजना आयोगको सचिवको पनि सरुवा भएको थियो । जसमध्ये संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका सचिव हरिशरण पुडासैनी संघीय अर्थ मन्त्रालयमा, प्रदेश लोकसेवा आयोगकी सचिव नीता पोखरेलको निर्वाचन आयोगमा र प्रदेश नीति तथा योजना आयोगका सचिव ज्ञानप्रसाद ढकालको रक्षा मन्त्रालयमा सरुवा भएको थियो ।
उहाँहरुमध्ये लोकसेवा आयोगकी सचिव पोखरेलले रमाना बुझ्नुभएको छैन भने अन्य सबैले सरुवा भएसँगै रमाना लिएर सम्बन्धित निकायमा हाजिर भइसक्नुभएको छ । लोकसेवा अयोग अध्यक्षविहिन समेत रहेकाले सचिव पोखरेलले रमाना नबुझ्नुभएको हो । अध्यक्ष नभएकाले आफूले सरुवा भए पनि रमाना नबुझेको उहाँले बताउनुभयो । आयोगको कामकाजमा समस्या हुने भएकाले सरुवा भए पनि जिम्मेवारीमा रहेर काम गर्दै आएको उहाँले बताउनुभयो ।
यता बागमती प्रदेशका प्रमुख सचिवको जिम्मेवारीमा रहनुभएका गोविन्दबहादुर कार्कीसमेत ५ महिनामा नै सरुवा लिएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय जानुभएको छ । गत बैशाख १० मा निमित्त प्रमुख सचिवको जिम्मेवारीमा आउनुभएका कार्की भदौ २८ मा सरुवा लिएर संघीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय जानुभएको हो । उहाँको सरुवासँगै बागमतीको प्रमुख सचिवको जिम्मेवारी हरिप्रसाद लम्साललाई तोकिएको थियो । तर, उहाँ पनि केही दिन ढिला गरी हाजिर हुनुभयो ।
प्रमुख सचिव हाजिर नभएपछि असोज ६ गतेसम्म मुख्यमन्त्री कार्यालयका कानुन सचिव कृष्णकुमार कार्कीलाई निमित्त प्रमुख सचिवको जिम्मेवारी तोकिएको थियो । असोज ६ मा मात्र प्रमुख सचिव लम्साल हाजिर हुनुभएको थियो ।
सचिव खटाउने विषयको समस्या बागमती प्रदेशको पुरानै समस्या हो । विगतमा एक सचिवको दरबन्दी रहेको मन्त्रालयमा २ सचिवको नियुक्त पनि बागमतीमा भएको थियो भने संघीय सरकारले नियुक्त गरेको सचिवलाई हाजिर नगराउने प्रचलनसमेत सुरु भएको थियो । आफू अनुकूल सचिव नभएको भन्दै गत बैशाख १३ मा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा संघीय सरकारबाट सरुवा भएका सहसचिव रमेश न्यौपानेलाई हाजिर गराइएको थिएन ।
सचिव न्यौपानेलाई हाजिर नगराएर तत्कालीन सरकारले प्रदेश निजामती सेवा ऐन २०७९ कार्यान्वयन गर्दै प्रदेशकै कर्मचारीलाई सचिवको जिम्मेवारी तोकिएको थियो । प्रदेशसभा सचिवालयमा दरबन्दी कायम रहेका प्रदेशका ११ औं तहका कर्मचारी पूर्णबहादुर दर्जीलाई दोहोरो जिम्मेवारीमा सो मन्त्रालयको पनि सचिवको जिम्मेवारी तोकिएको थियो ।
उता प्रदेशको स्वास्थ्य मन्त्रालयमा अहिले पनि २ जना सचिवले हाजिर गर्दै आएका छन् । एक दरबन्दी रहेको मन्त्रालयमा प्रदेशका ११ औं तहका कर्मचारी बद्रीबहादुर खड्काले जिम्मेवारी सम्हाल्दै आउनुभएको छ भने सोही पदमा संघीय सरकारले गत वैशाख १२ मा सहसचिव डा. प्रवीण श्रेष्ठलाई सरुवा गरेको थियो ।
सरुवा भएसँगै हाजिर हुन आउनुभएका डा. श्रेष्ठलाई मन्त्रालयले हाजिर गराउन नसक्ने भनेपछि अदालत पुग्नुभएको थियो । अदालतले उहाँले दायर गरेको मुद्दा खारेज गरिदिएको छ । तर, पनि उहाँ अझै मन्त्रालयमा नै जिम्मेवारीविहिन रुपमा हाजिर गरिरहनुभएको छ ।
मुख्यमन्त्री कार्यालयमा हाजिर भइसक्नु भएको छ, जिम्मेवारी छिट्टै तोक्छौंः प्रमुख सचिव लम्साल
प्रदेश सरकारका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालले संघीय सरकारले विगतको तुलनामा फरकरुपमा सचिवहरुको सरुवा गरेर पठाएको बताउनुभयो ।
विगतमा सम्बन्धित मन्त्रालयमा नै जिम्मेवारी तोकिने गरेकोमा हाल मुख्यमन्त्री कार्यालयमा सचिवहरु पठाएको उहाँले बताउनुभयो । उहाँका अनुसार भदौ २७ को निर्णयअनुसार संघीय सरकारले सचिवहरु प्रदेशमा पठाएको छ । प्रदेशलाई आवश्यक पर्ने दरबन्दीअनुसार सचिवहरु सरुवा गरी पठाइएको उहाँले बताउनुभयो ।
पहिलाको भन्दा फरकरुपमा सरुवा भएर आउनुभएको छ । भदौ २७ को निर्णयअनुसार प्रदेशलाई चाहिने दरबन्दीअनुसार सचिवहरु मुख्यमन्त्री कार्यालयमा सरुवा गरी पठाइएको छ’, प्रमुख सचिव डा. लम्सालले भन्नुभयो– ‘आज नै ३ जना सचिवहरु मुख्यमन्त्री कार्यालयमा हाजिर गर्नुभएको छ । २ जना पनि हाजिर हुने चरणमा हुनुहुन्छ । हाजिर भइसकेपछि जिम्मेवारी तोक्ने तयारी छ ।’
सचिवहरुको विभागीय मन्त्रालयको जिम्मेवारी तोक्न क्याबिनेटबाट निर्णय हुनुपर्ने उहाँले बताउनुभयो । मुख्यमन्त्रीसँग समन्वय गरेर आगामी क्याबिनेटबाट मन्त्रालयको जिम्मेवारीमा सचिवहरु खटाइने उहाँले बताउनुभयो ।