हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीले एक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ । संघले सोमबार आफ्नो १५ औं स्थापना दिवसको अवसरमा मनहरी–६, लोथरस्थित राष्ट्रिय आधारभूत विद्यालयलाई शैक्षिक तथा खाद्यान्न सामग्री सहयोग गरेको हो ।
संघका सभापति गणेश सायमीका अनुसार कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई कापी, कलम र विस्कुट वितरण गरिएको छ । मनहरी–६ का वडाध्यक्ष यादव थपलियाको उपस्थितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमेश नगरकोटी र प्राधानाध्यापक सीताराम राईलाई २५ हजार रुपैयाँ बराबरको शैक्षिक तथा खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो ।
स्थापना दिवसकै अवसरमा सोमबार खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको समन्वयमा पालिकाभित्रका होटल तथा किराना पसलहरुमा स्वच्छ खाना र खाजाका बारेमा अभिमुखीकरण र आन्तरिक राजस्व कार्यालयबाट करको व्यवस्थाबारे व्यवसायीहरुलाई जानकारी गराएको सभापति सायमीले बताउनुभयो । संघले मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीलाई करको दर वृद्धिबारे ज्ञापनपत्रसमेत बुझाएको छ । बुधबार संघकै कार्यालयमा दीप प्रज्ज्वलन गरी स्थापना दिवस सम्पन्न गर्ने सभापति सायमीले बताउनुभयो ।