हेटौँडाः हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा कक्षा ११ र १२ को आन्तरिक परीक्षा सुरु भएको छ । चालु शैक्षिक सत्रको पहिलो आन्तरिक परीक्षा आगामी मंगलबारसम्म चल्नेछ ।
मकवानपुर बहुमुखी क्याम्पसले कक्षा ११ को परीक्षा बिहान ७ बजेदेखि साढे ८ बजेसम्म र कक्षा १२ को परीक्षा बिहान ९ बजेदेखि साढे १० बजेसम्म सञ्चालन गरेको छ । प्रथम त्रैमासिक परीक्षा भएकोले ३७ दशमलव ५ पूर्णाङ्कको परीक्षा सञ्चालन गरिएको हो । कक्षा ११ का कुल विद्यार्थी सात सय ४७ जना मध्ये परीक्षामा छ सय ५८ जना सहभागी भएका छन् । परीक्षामा ८९ जना विद्यार्थी अनुपस्थित छन् । यस्तै कक्षा १२ का एक हजार एक सय ७२ जना विद्यार्थी मध्ये एक हजार ४२ जना विद्यार्थी आन्तरिक परीक्षामा सहभागी भएका छन् । कक्षा १२ का एक सय ३० जना विद्यार्थी परीक्षामा अनुपस्थित भएका छन् ।
आन्तरिक परीक्षामा अनुपस्थित भएका विद्यार्थीको विषयमा विद्यार्थी र अभिभावक दुबैलाई सोधेर उनीहरुलाई पनि आन्तरिक परीक्षामा सहभागी गराउन प्रयास गरिने मकवानपुर बहुमुखी क्याम्पसका प्राचार्य सन्देश विडारीले जानकारी दिनुभएको छ । दसैं बिदा अघि विद्यार्थीको मूल्यांकनका लागि परीक्षा लिइएको र आन्तरिक परीक्षाका आधारमा दसैंपछि क्याम्पस सञ्चालन हुँदा विद्यार्थीलाई ग्रेडिङ गरेर कमजोर विद्यार्थी लक्षित गरी प्रभावकारी शिक्षण अभ्यास गरिने प्राचार्य विडारीले स्पष्ट पार्नुभएको छ ।