डान्स च्याम्पियन सिजन २ को फाइनलमा पुगेकी हेटौँडाकी रोमिया भट्टराई ।

हेटौँडाः हेटौँडाकी रोमिया भट्टराई डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन सिजन २’ को फाइनलमा पुगेकी छिन् । हेटौँडा–८, श्रमिक टोलकी भट्टराई सिजन २ को फाइनल चरणको उत्कृष्ट ६ मा प्रवेश गरेकी हुन् ।

११ वर्षीया रोमिया शोको कान्छी प्रतियोगी हुन् । फाइनल प्रस्तुतीअघि आफूलाई जिताउन प्रचार गर्ने उद्देश्यले रोमिया सोमबार हेटौँडा आइपुगेकी छिन् । गत जेठमा डिजिटल अडिसनबाट छानिएकी रोमिया उपाधि जित्ने राम्रो सम्भावना समेत रहेको प्रशिक्षक सन्ध्या आचार्य बताउनुहुन्छ । हेटौँडा–८ स्थित आइटिए स्टेप्स एण्ड स्टाइल डान्स स्टुडियोमा ४ वर्षदेखि नृत्य प्रशिक्षण लिइरहेकी रोमिया हेटौँडा–८ स्थित माउण्ट एभरेष्ट इंग्लिस बोर्डिङ स्कूलमा ६ कक्षाकी छात्रा हुन् ।

रोमियालाई जिताउन बुधबारदेखि हेटौँडा–८ कमानेबाट प्रचार अभियान सुरु गर्न लागेको प्रशिक्षक आचार्यले बताउनुभयो । डान्स च्याम्पियन सिजन २ एपी वान टेलिभिजनमा मंगलबार र बुधबार साँझ साढे ८ बजे प्रसारण भइरहेको छ । रोमियोलाई जिताउन अनलाइनमार्फत भोटिङ गर्न सकिने बताइएको छ । एकजनाले जति पनि भोटिङ गर्न सक्ने र एक भोट बराबर १० रुपैयाँ शूल्क लाग्नेछ ।

डान्स च्याम्पियन सिजन २ को फाइनल प्रस्तुती असोज २१ गते हुनेछ । उपाधि विजेताले नगद १७ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । रोमियासँगै फाइनल भिडन्तमा अनिल सुनुवार, बबिता पोखरेल, जिके क्विन्स, साजन गुरुङ र शुभम् सिंह रहेका छन् ।