हेटौँडाः हेटौँडामा तामाङ चलचित्र ‘ग्याल्बो राजा’ को विशेष शो हुने भएको छ। शनिबार हेटौडामा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र टिमले शोबारे जानकारी गराएको हो ।
चलचित्रका निर्देशक एवम् नायक विनायक तामाङले यही असोज १७ गतेदेखि १९ गतेसम्म हेटौडाको ओम्याक्स हलमा विशेष शो हुने बताउनुभयो । १८ गते भने नेपाली भाषामा चलचित्र प्रदर्शन हुने बताउनुभयो । चलचित्र अधिकांश मकवानपुरमा नै छायाङ्कन भएको र कलाकार पनि मकवानपुरकै रहेका कारण हेटौँडामा विशेष शो गर्न लागेको उहाँले बताउनुभयो । उहाँका अनुसार चलचित्रमा गाउँमा तामाङ र दलित जातिको प्रेमकथामा आधारित विषयवस्तु समेटिएको छ ।
चलचित्रकी निर्माता एवम् नायिका संगीता तितुङले चलचित्र कार्तिक ९ गतेदेखि देशभर प्रदर्शन हुने बताउनुभयो । आफूले पनि चलचित्रमा डेब्यु गरेको बताउनुहुँदै यो चलचित्र राम्रो बनेको दाबी गर्नुभयो । प्रेमकथामा आधारित राम्रो चलचित्र बनेकाले सबैको माया पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । चलचित्रको गीतको भिडियो भने कालीदेवी मिडिया हाउसबाट सार्वजनिक भइसकेको उहाँले बताउनुभयो । चलचित्रमा मुख्य कलाकार अर्जुन गुरुङ, मायादेवी मोक्तान, सञ्चवीर लो, मेम्बर लो, ऋतु तामाङ, रोजिना तामाङ, मनिका सिन्तान र सञ्जय रुम्बा रहेका छन् ।