हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका स्थित भीमफेदी कारागारबाट चालु आर्थिक वर्षमा ४ सय ३० कैदीले कैद सजाय भुक्तान गरी कारागार मुक्त भएका छन् । कारागारबाट ६० जना कैदी माफी मिनाहा भएको कारागार प्रमुख प्रकाश खनालले जानकारी दिनुभएको छ । उहाँका अनुसार हाल कारागारमा ९ सय ४५ जना कैदीबन्दी रहेका छन् ।

चालु आर्थिक वर्षमा भीमफेदी कारागारको भौतिक र प्राविधिक क्षेत्रमा सुधार भएको कारागार प्रमुख खनालले बताउनुभएको छ । कारागारको परिसरलाई उज्यालो बनाउन १३ वटा हेलोजिन फ्ल्ड लाइट जडान गरिएको छ । कारागारमा १६ वटा सिसि क्यामरा जडान गरिनुको साथै कारागारलाई काँडेतार र कन्सन्ट्रिना तारले घेरिएको छ । कारागारमा कोरोना भाइरसको संक्रमणबाट सावधानी अपनाउन मूल गेटमा हात धुने व्यवस्था, मास्कको प्रयोग अनिवार्य, थर्मल गनबाट तापक्रम लिने र आरडिटि परिक्षण गर्ने लगायतका कार्यहरु भएको छ । त्यस्तै कारागार परिसरमा व्याडमिन्टन कोर्ट निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

कारागारमा मेडिकल कक्ष निर्माण गरी सकिएको र स्वास्थ्य सामग्री र औषधीको पनि व्यवस्थापन गरिसकिएको छ । एकजना स्वास्थ्यकर्मीलाई करारमा राखेर साउन १ गतेदेखि मेडिकल सञ्चालनमा ल्याउने बताइएको छ । त्यस्तै १ सय ५ वर्ष पुरानो कारागार भवनको कार्यालयलाई नयाँ भवन बनिसकेकोले छिट्टै नयाँ भवनमा सारिने कारागार प्रमुख खनालले बताउनुभयो । ५ वर्षदेखि खाली रहेको महिला कैदी राख्ने भवन पनि बागमती प्रदेश सरकारको सहयोगमा पुनर्निर्माण भएको र केही सुरक्षा मापदण्ड पुग्न बाँकी रहेकोले सुरक्षा मापदण्ड पुर्‍याएर छिटै सञ्चालनमा ल्याइने बताइएको छ ।