हेटौंडाः हेटौंडामा जारी तेस्रो संस्करणको राष्ट्रिय रोटरी मकवानपुर पिप्ले क्याम्पा भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा झापाको पूर्वेली भेट्रान्स क्लब प्रवेश गरेको छ । शुक्रबार हेटौंडा–५, पिप्लेस्थित पिप्ले क्याम्पा रंगशालामा भएको क्वार्टरफाइनल खेलमा रमेश गुरुङको निर्णायक गोलमा पूर्वेली क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । गुरुङले खेलको २० औं मिनेटमा गोल गर्दै म्यान अफ द म्याचसमेत हुन सफल भएका छन् ।
शुक्रबार बिहान भएका खेलमा वीरगञ्ज एकेडेमी भेट्रान्सलाई ४–१ गोलले हराउँदै पोखराको बगरभाइ भेट्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार वर्षाको कारण खेलाउन सम्भव नभएको खेललाई शुक्रबार बिहान सञ्चालन गरेको हो । बगरभाइका ईश्वर गुरुङले खेलको १६ औं मिनेटमा गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । गम्भीर परियारले २१ औं मिनेटमा गोल गरेर अग्रतालाई कायम राखेका थिए । खेलको २६ औं मिनेटमा तेजबहादुर गुरुङ र २४ औं मिनेटमा गंगा तामाङले समान एक–एक गोल गरेका थिए । वीरगञ्जको तर्फबाट शम्भु अधिकारीले सान्त्वना गोल गरेका थिए । बगरभाइका धनकुमार गुरुङ म्यान अफ द म्याच घोषित भएका छन् ।
यस्तै, शुक्रबार हुने भनिएको चितवन जिल्लाको चितवन भेट्रान्स क्लब र काठमाडौं महानगरपालिकाको फ्रिडम फाइटर भेट्रान्सबीचको क्वार्टरफाइनल खेल वर्षाको कारण स्थगित भएको छ । स्थगित भएको खेललाई शनिबार बिहान खेलाइने बताइएको छ ।
प्रतियोगिताको फाइनल खेल आउँदो सोमबार हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ र उपविजेता टिमले एक लाख एक हजार एक सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोकृष्ट प्रशिक्षकले १० हजार रुपैयाँ, सर्वोकृष्ट खेलाडीले ५ हजार रुपैयाँ, सर्वोकृष्ट गोलरक्षक, डिफेन्स, मिडफिडर र फरवार्डले ५–५ हजार रुपैयाँ नगद राशि प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि करिब १८ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
पहिलो र दोस्रो संस्करणको प्रतियोगिताको प्रथम पुरस्कार एक लाख रुपैयाँ र द्वितीय पुरस्कार ७५ हजार रुपैयाँ रहेकोमा यस वर्षबाट पुरस्कारको रकम बढाइएको हो । वि.स. २०७२ सालको पहिलो संस्करण र २०७३ सालको प्रतियोगिताको उपाधि चितवन भेट्रान्सले जितेको थियो ।