हेटौँडाः जिल्ला प्रहरी कार्यालय बाराले बुधबार एकैदिन ३१ लाख रुपैयाँको अवैध सामान बरामद गरेको छ । बिहीबार बाराले पत्रकार सम्मेलन गर्दै ३१ लाख ५१ हजार ४ सय ६९ रूपैया बराबरको विभिन्न अवैध समानहरू नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

बुधबार बेलुका ८ बजेर ३५ मिनेटको समयमा कलैया उपमहानगरपालिका–१, कलैया चोकबाट भन्सार छली गरी ल्याउदै गरेको १८ पोका रेडिमेट कपडा, सेण्डो गन्जी ४० पिस, हाप पाइन्ट १८ पिस, सुतिको गम्छा २६ पिस गरी १८ हजार बराबरको अवैध सामान नियन्त्रणमा लिएको थियो । यस्तै साँझ ५ बजेर ४० मिनेटको समयमा ईलाका प्रहरी कार्यालय जीतपुर बाराबाट जीतपुर सिमरा उपमहानगरपालिका–७, जीतपुर चोकमा वीरगंजबाट पथलैयातर्फ जाँदै गरेको ना १ ज ३२४२ नम्बरको म्याजिक गाडीलाई रोकी सुरक्षा जाचँ गर्दा डिक्की भित्र लुकाई छिपाई ल्याएको ९ हजार रुपैयाँ बराबरको २ बोरा अवैध चिनी बरामद गरेको थियो ।

राती ११ बजेर ४० मिनेटको समयमा बीरगंजबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ७ ज ५९२७ नम्बरको डिब्बे ट्रकलाई रोकी सुरक्षाजाचँ गर्दा विलविजक भन्दा बढी र सामान श्रोत खुलाउन नसकेको २७ लाख ५० हजार ५ सय ८९ रुपैयाँ बराबरको अवैध खुद्रा सामान सहित डिब्बा ट्रक नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले बेलुका ८ बजेर ३० मिनेटको समयमा बारा बिश्रामपुर गाउँपालिका–२ घोडासहनमा भन्सार छली गरी ल्याउदै गरेको २० हजार रुपैयाँ किसमिस नियन्त्रणमा लिएको छ । यस्तै, प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले बिहान ९ बजेर ३० मिनेटको समयमा जीतपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोकबाट बीराटनगरबाट काठमाण्डौँ तर्फ जाँदै गरेको प्र. १–०२–००२– ख ०१६२ नम्बरको बसलाई रोकी सुरक्षाजाँच गर्दा बिल बिजक भन्दा बढी रहेको अवैध ३ लाख १६ हजार ८ सय रुपैयाँ बराबरको ३ सय ९६ पिस कपडा नियन्त्रणमा लिएको छ ।

बेलुका ११ बजेर ५० मिनेटको समयमा पथलैया चोकमा रौतहटबाट काठमाण्डौँ तर्फ जाँदै गरेको प्र.०३–००१ ख २४९७ नम्बरको बसलाई रोकी चेकजाचँ गर्दा बसको डिक्कीभित्र लुकाई छिपाई ल्याएको ५० किला चिनीे, ४ क्विन्टल प्याज र ४० किलो सुर्ती गरी २७ हजार बराबरको अवैधसामान नियन्त्रणमा लिएको छ । प्रहरी चौकी कचोर्वा बाराबाट खटिएको प्रहरी टोलीले दिउँसो ४ बजेर २० मिनेटको समयमा बारा सिम्रौनगढ नगरपालिका–९, बसवरीयाबाट भन्सार छली गरी ल्याउदै गरेको १० हजार ८० रुपैयाँ बराबरको ६ कार्टुन मजा जुस नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । अवैध सामानसहित ट्रकलाई नियन्त्रणमा लिई राजश्व कार्यालय पथलैया बारा लगिएको प्रहरीले जानकारी दिएको छ ।