हेटौँडाः नेपाल पत्रकार महासंघको निर्वाचन फेरि सरेको छ । यसअघि असोज ५ गतेका लागि तय गरिएको निर्वाचन महासंघले आगामी असोज १२ गते शनिबारका दिन निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई पत्रचार गरेको छ । महासंघले निर्वाचन समितिसँग निर्वाचनको मिति सार्न सहमति समेत गरेको जनाएको छ ।
महासंघका कार्यवाहक अध्यक्ष रमेश बिष्टले आज एक विज्ञप्ति जारी गर्दै मतदाता सूची र निर्वाचन तालिका शनिबार सार्वजनिक गर्ने समझदारी भएको जानकारी दिनुभएको छ । असोज ५ गते तीनै तहको निर्वाचन सम्पन्न गर्ने मिति घोषणा भइसकेको अवस्थामा महासंघका अध्यक्ष विपुल पोख्रेलले विभिन्न कारण देखाउँदै राजीनामा दिनु भएपछि असहज परिस्थिति उत्पन्न भएको र निर्वाचनको घोषित मितिमा सामान्य हेरफेर गरी निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यात्मक परिस्थिति सृजना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अध्यक्ष पोख्रेलकै नेतृत्वमा महासंघसँग सरोकार राख्ने पक्षहरूसँगको सहमतिमा तयार भएको मतदाता सूची आज शुक्रबार निर्वाचन समितिलाई हस्तान्तरण गरिएको कार्यबाहक अध्यक्ष बिष्टले जानकारी दिनुभएको छ । महासंघको निर्वाचन सम्पन्न गर्न सरोकारवालाबाट सहयोगको अपेक्षा समेत गरिएको छ ।