हेटौँडाः हेटौँडामा जारी तेस्रो संस्करणको रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता अन्तर्गत सेमिफाइनल प्रवेशका लागि शुक्रबार दुई खेल हुँदैछ । हेटौंडा–५, पिप्लेस्थित पिप्ले क्याम्पा रंगशालामा हुने पहिलो खेलमा पुर्वेली भेट्रान्स क्लब भापा र सिमरा भेट्रान्स बारा बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा चितवन भेट्रान्स क्लब र फ्रिडम फाइटर भेट्रान्स काठमाण्डौँ बीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । शुक्रबार बिहान पहिलो चरणको अन्तिम एक खेल सम्पन्न भएसँगै प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको हो । प्रतियोगितामा वीरगञ्ज एकेडेमी भेट्रान्सलाई ४–१ गोलले हराउँदै पोखराको बगरभाइ भेट्रान्सल क्वार्टरफाइनलमा प्रवेश गरेसँगै दोस्रो चरणका खेलको टुंगो लागेको हो ।
प्रतियोगिताको फाइनल खेल आउँदो सोमबार हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ र उपविजेता टिमले एक लाख एक हजार एक सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।