सांकेतिक तस्वीर ।

हेटौँडाः काभ्रे र चितवन जिल्लामा ४ जनाको मृत्यु भएको छ । काभ्रेमा आइतबार भएका दुई छुट्टाछुट्टै घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । करेन्ट लागेर घाइते एक मजदुर र मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते वृद्धको उपचारका क्रममा ज्यान गएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

पनौती नगरपालिका–६ मा निर्माणाधीन नेपाल प्रहरी प्रतिष्ठानको भवनमा ढलान गर्ने क्रममा करेन्ट लागेर घाइते भएका सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–१ का २० वर्षीय सविन चौधरीको धुलिखेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै बनेपा–पनौती सडकखण्ड अन्तर्गत पनौती नगरपालिका–५ ढलमलेमा आइतबार बेलुका मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रु ६३ वर्षीय काजीबहादुर गुरुङको नर्भिक अस्पताल काठमाडौंमा उपचारका क्रममा आइतबार मृत्यु भएको छ ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका–२६ स्थित खयरघारी दुर्गा मन्दिरटोलमा ३ वर्षीय एक बालकको कुलोमा डुबेर मृत्यु भएको छ । स्थानीय हरीबहादुर कुमालको ३ वर्षीय छोरा सन्देश कुमालको कुलोमा खेल्ने क्रममा डुबेर मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । कार्यालयका अनुसार आईतबार साँझ ५ बजेर २० मिनेटमा बालकलाई डुबेको स्थानबाट २ सय मिटर तल फेला पारी उपचारार्थ भरतपुरस्थित सरकारी अस्पतालमा पु¥याइएको थियो । बालकको उपचारकै क्रममा साँझ ७ बजेर ५ मिनेट जाँदा मृत्यु भएको हो ।

चितवनकै माडी नगरपालिका–१ स्थित शिकारीपुरमा चट्याङ लागी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीया सरस्वती महत्तो छिन् । वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार महत्तोलाई आईतबार बिहान ९ बजे आफ्नै गोठमा भैसीलाई कुँडो हाल्न जाँदा एक्कासी चट्याङ लागेको थियो । चट्याङ लागी गम्भिर घाईते बनेकी उनको बघौडा अस्पताल माडीमा उपचारकै क्रममा बिहान १० बजेर ५० मिनेटमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।