हेटौँडाः हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसमा कक्षा १२ मा अध्ययनरत कालिदास सेक्सन र व्युटिसियन विषय अध्ययनरत विद्यार्थीको समूहले बुबाको मुख हेर्ने दिनको अवसर पारेर सोमबार हेटौँडा–१५, रातोमाटेस्थित दिव्यसेवा निकेतनमा आश्रित ज्येष्ठ नागरिकका लागि खाद्यान्न सहयोग गरेका छन् ।
करिब १० हजार रुपैयाँ बराबरको दाल र चामल विद्यार्थीले सहयोग गरेका हुन् । विद्यार्थीले खाद्यान्न सहयोग गर्नुका साथै व्युटिसियन विषय अध्ययनरत विद्यार्थीले आश्रित ज्येष्ठ नागरिकको हात–खुट्टाका नङ काट्ने, कपालको सरसफाईको काम समेत गरेका थिए । हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्राध्यापक अमुल श्रेष्ठको नेतृत्वमा गएको विद्यार्थी समूहले ज्येष्ठ नागरिकसँग भलाकुसारी तथा नाचगान गरेका थिए ।
दिव्यसेवा निकेतनमा २८ जना ज्येष्ठ नागरिक आश्रित छन् । विद्यार्थीको उपस्थितिले ज्येष्ठ नागरिकलाई खुसी मिलेको भन्दै दिव्यसेवा निकेतनका अध्यक्ष टीआर निरौलाले आभार व्यक्त गर्नुभयो ।