हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौंडा अस्पतालमा आइतबारदेखि विस्तारित बहिरंग सेवा (इएमएस) सुरु भएको छ । सेवा सुरु भएको दिन अस्पतालमा ३ जनाले विस्तारित सेवाको लाभ लिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रामचन्द्र सापकोटाले बताउनुभयो ।
अस्पतालबाट २ जना सेवाग्राहीले मेडिसिन र एक जनाले सर्जरीको सेवा लिएका थिए । २ जनाले भने भिडियो एक्स–रे (अल्ट्रासाउन्ड) को सेवा लिएका मेसु सापकोटाले बताउनुभयो । अस्पतालले सेवामा सुधार ल्याउन थप सेवाको रुपमा विस्तारित बहिरंग सेवा आइतबारदेखि सञ्चालन ल्याएको हो ।

अस्पतालले विस्तारित बहिरंग सेवा दिउँसो ४ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्नेछ । हेटौंडा अस्पतालले विस्तारित सेवाबाट जनरल मेडिसिन, स्त्री तथा प्रसुती, बालरोग, नशा तथा हाडजोर्नी, जनरल सर्जरी, मानसिक रोग र भिडियो एक्स–रेको ओपीडी सेवा प्रदान गर्दैछ ।
विस्तारित सेवामा विशेषज्ञ चिकित्सकबाट मात्र सेवा प्रदान गरिनेछ । यो सेवामा सेवाग्राहीले डाक्टर छनोट गरेर सेवा लिनसक्ने व्यवस्था मिलाइएको छ । अस्पतालले बहिरंग सेवामा बिमाको सुविधा भने लागू गर्ने छैन । बहिरंग सेवाको शुल्क ५ सय रुपैयाँ रहेको छ ।

आगामी दिनहरुमा अस्पतालले बहिरंग सेवामा ओपीडी सेवामात्र नभई सर्जिकल सेवासमेत लागू गर्ने प्रतिबद्धता जनाएको छ । विस्तारित सेवामा बिरामीको प्रतिक्रियाअनुसार सेवा थपसमेत गरिने अस्पतालले बताएको छ । हेटौंडा अस्पतालले विस्तारित सेवामा रगत, दिशा, पिसाब परीक्षणको रकम सामान्य ओपीडी सेवाकै कायम गरिएको छ ।