हेटौँडाः मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता अनतर्गत आइतबार दुई खेल मात्र सम्भव भएको छ । हेटौँडा–६ स्थित गौरीटार रंगशालामा र हेटौँडा–११ स्थित सिमटार मैदानमा एक–एक गरी दुई खेल मात्र सम्पन्न भएको हो ।
आइतबार गौरीटार रंगशालामा भएको खेलमा हटिया स्पोटर््सलाई २–१ गोलले हराउँदै एफसी नामटारले विजयी सुरुवात गरेको छ । नामटारको जीतमा सविन गोल र सन्दीप भोलनले समान एक–एक गोल गरे । यस्तै हटियाका लागि सुरज तामाङले मात्र गोल गरे । म्यान अफ द म्याच नामटारका गोले घोषित भएका छन् । यस्तै सिमलटार मैदानमा भएको खेलमा हेटौँडा–७ लाई ३–० गोलअन्तरले हराउँदै न्यू कम्वाइनले विजयी सुरुवात गरेको छ । कम्वाइनको जीतमा सुरज थिङले दुई र विशाल भोलनले एक गोल गरे । म्यान अफ द म्याच सुरज थिङ घोषित भएका छन् ।
प्रतियोगिता अन्तर्गत आइतबार ३ खेल वर्षाका कारणले स्थगित भएको छ । शनिबार स्थगित भएर आइतबार बिहान हुने भनिएको हेटौँडा भेट्रान्स र सक्षम युवा क्लब, दिउँसो हुने भनिएको पिप्ले युवा क्लब र रियल स्टार क्लब तथा मल्टिभिजन र पदमपोखरी युथबीच हुने भनिएको खेल स्थगित भएको हो । स्थगित खेलहरुको बारे सोमबार निर्णय गरिने जिल्ला फुटबल संघले जनाएको छ । प्रतियोगिताको फाइनल खेल असोज ९ गते हुनेछ । लिगको उपाधि विजेताले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।