हेटौँडाः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ ।
शुक्रबार हेटौँडा–११, थानाभर्याङस्थित सिमलटार खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता न्यू डाँफे युथ क्लबले शानदार जित निकालेको छ । महावीर क्लबलाई ७–० गोलको फराकिलो अन्तरले हराउँदै साविक विजेता डाँफेले विजयी सुरुवात गरेको हो । डाँफेको तर्फबाट पहिलो हाफको २० औं मिनेटमा अभिषेक लामाले पहिलो गोल गरे ।
यस्तै खेलको ४६ औं मिनेटमा निश्चल थापाले गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए । ५७ औं मिनेटमा रितेश श्रेष्ठले, ५९ औं मिनेटमा वोध कुमार वाईबाले गोल गरे । सुशान्त तामाङले दुई र राजिव डिम्डुङले एक गोल गर्दै डाँफेले महावीरविरुद्ध ७–० को फराकिलो अन्तरको जित हासिल गर्याे । म्यान अफ द म्यान डाँफेका सुशान्त तामाङ घोषित भए । डाँफेले समूह चरणको दोस्रो खेलमा हेटौँडा फुटबल एकेडेमीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
शनिबारबाट हेटौँडा–६ स्थित गौरीटार रंगशालामा पनि खेल सञ्चालन हुनेछ । गौरीटारमा पहिलो खेलमा परेली युवा क्लब र विजय युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा समूह ‘ख’ बाट गोर्खा ब्वाइज क्लब र एफसी इन्टरनेट सिटीबीच प्रतिस्पर्धा हुनेछ । यस्तै समूह ‘क’ बाट सिमलटार मैदानमा सक्षम युवा क्लब र हेटौंडा भेट्रान्स क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा समूह ‘क’ बाटै आरआर एफसी र एफसी इन्टरनेटबीच प्रतिस्पर्धा हुनेछ ।
करिब ४ वर्षपछि सञ्चालन भएको जिल्ला लिगको प्रत्येक समूहको वरियताक्रमको आधारमा क्लबलाई ए, बी र सी डिभिजनमा छुट्याइने बताइएको छ । जिल्ला लिग फुटबल प्रतिायोगिताको उपाधि विजेता टिमले असोज बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा सहभागी हुन पाउने छ । लिगको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र र उपविजेता टिमले पचास हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।प्रतियोगिता आयोजनाका लागि करिब १२ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्य तथा मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाको सभाध्यक्षमा प्रतियोगिताको उद्घाटन समारोह भएको थियो । प्रतियोगितामा २८ क्लबहरुको सहभागिता रहेको छ ।