हेटौँडाः सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले फेरि किलिङ्कर उत्पादन थालेको छ । गत असार पहिलो साता किलिङ्कर उत्पादन सुरु गरेलगत्तै विद्युत प्रवाहसँगै मोर्टरमा समस्या देखिएपछि उत्पादन रोकिएको थियो । विद्युत प्रवाहमा सुधार भएर प्राविधिक समस्या समेत समाधान भएपछि आज शुक्रबारबाट हेटौँडा सिमेन्ट उद्योगले किलिङ्कर उत्पादन सुरु गरेको हो ।
हेटौँडा सिमेन्ट उद्योगको मर्मत महाशाखा प्रमुख रामप्रित चौधरीले विद्युत प्रवाह र प्राविधिक पक्षको सुधारपछि शुक्रबारबाट किलिङ्कर उत्पादन सुरु गरिएको जानकारी दिनुभयो । प्राविधिक समस्या नभई निरन्तर सञ्चालन भयो भने १० देखि १२ दिनसम्म किलिङ्कर उत्पादन गर्न सकिने उहाँको भनाइ छ । सहजरुपमा उद्योग सञ्चालन हुँदा दैनिक ६ सय मेट्रिक टन किलिङ्कर उत्पादन गर्न सकिने चौधरीको भनाई छ ।
हेटौँडा सिमेन्ट उद्योगका अध्यक्ष नरेन्द्र भण्डारीका अनुसार असार पहिलो साता उत्पादन सुरु गरे पनि विद्युत र मोर्टरको समस्याका कारण उत्पादन नियमित हुन नसकेको र त्यतिबेला विद्युतको समस्या समाधान गर्न नसक्दा निरन्तर उत्पादन प्रभावित भएको जानकारी दिनुहुँदै अहिले भने सबै समस्या समाधान गरेर पुनः उत्पादन सुरु गरिएको जानकारी दिनुभयो । पूर्व महाप्रबन्धक प्रेमशंकर सिंहलाई समेत बोलाएर उद्योगको प्राविधिक समस्या समाधान गरेर उत्पादन सुचारु गरिएको उहाँको भनाइ छ ।
हेटौँडा सिमेन्ट उद्योगको प्रशासन विभागका वरिष्ट अधिकृत हरेराम आचार्यका अनुसार हेटौँडा सिमेन्ट उद्योगमा करिब १५ हजार बोरा सिमेन्ट भण्डारमा मौज्दात छ । दैनिक करिब ४ हजार बोरा सिमेन्ट बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो ।