हेटौँडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पतालमा विस्तारित बहिरंग सेवा (इएमएस) सञ्चालन हुँदैछ । हेटौँडा अस्पतालले सेवामा सुधार ल्याउन थप सेवाको रुपमा विस्तारित बहिरंग सेवा आइतबारदेखि सञ्चालनमा ल्याउने भएको हो ।

शुक्रबार अस्पतालले पत्रकार सम्मेलन गर्दै विस्तारित सेवाको बारेमा जानकारी गराएको छ । अस्पतालले विस्तारित बहिरंग सेवा दिउँसो ४ बजेदेखि बेलुकाको ६ बजेसम्म सञ्चालन गर्नेछ । हेटौँडा अस्पतालले विस्तारित सेवाबाट जनरल मेडिसिन, स्त्री तथा प्रसुती, बालरोग, नशा तथा हाडजोर्नी, जनरल सर्जरी, मानसिक रोग र भिडियो एक्सरेको ओपिडि सेवा प्रदान गर्ने अस्पतालका निर्देशक धिरेन्द्र गिरीले बताउनुभयो ।

विस्तारित सेवामा विशेषज्ञ चिकित्सकबाट मात्र सेवा प्रदान गरिनेछ । इएसएसमा सेवाग्राहीले डाक्टर छानोट गरेर सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ । निर्देशक गिरीका अनुसार अस्पतालले बहिरंग सेवामा बीमाको सेवा भने लागु गर्ने छैन । आउँदो दिनहरुमा अस्पतालले बहिरंग सेवामा ओपिडि सेवा मात्र नभई सर्जिकल सेवा समेत लागु गर्ने गिरीले प्रतिबद्धता जनाउनु भएको छ । विस्तारित सेवामा बिरामीको प्रतिक्रिया अनुसार सेवा थप समेत गरिने गिरीले बताउनुभयो । हेटौँडा अस्पतालले विस्तारित सेवामा रगत, दिसा, पिसाब परीक्षणको रकम ओपिडी सेवा जस्तै राख्ने भएको छ ।

विस्तारित सेवाबारे जानकारी गराउँदै हेटौँडा अस्पतालका अधिकारीहरु ।