Home कला नवोदय साहित्यिक बगैंचा बाल क्लवको आयोजनामा भानुभक्त विशेष कार्यक्रम हुने

नवोदय साहित्यिक बगैंचा बाल क्लवको आयोजनामा भानुभक्त विशेष कार्यक्रम हुने

हेटौंडाः २०७ औं भानु जयन्तीको अवसरमा भानुभक्त विशेष कार्यक्रम हुने भएको छ । असार २९ गते नवोदय साहित्यिक बगैंचा बाल क्लवको आयोजनामा भर्चुअलबाट कार्यक्रम हुन लागेको हो । हेटौंडा–४, कमलडाँडास्थित नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले भानु जयन्तीको अवसरमा हरेक वर्ष विविध कार्यक्रम गर्दै आइरहेको छ । गत वर्ष विद्यालयमा गठन भएको क्लवले यस वर्ष भानुभक्त विशेष कार्यक्रम गर्न लागेको हो ।

‘क्लव गठन भएपछि पहिलोपटक भानु जयन्तीको अवसरमा कार्यक्रम गर्न लागेका छौं’, क्लवकी अध्यक्ष इलिशा पराजुलीले भन्नुभयो, ‘क्लवले जुम एपबाट रचना वाचन कार्यक्रम गरिसकेको छ । पहिलो पटक आयोजना गर्न लागेको विशेष कार्यक्रममा सहभागिताका लागि अनुरोध गर्दछु ।’ कार्यक्रममा मुख्य आकर्षणहरुमा विद्यार्थीले बनाएका आदिकवी भानुभक्त बारेमा वृत्तचित्र, यसै जिल्लामा अवस्थित ६ वटा विद्यालयका छ जना विद्यार्थीहरुको प्यानल डिस्कसन, बहस तथा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका प्रतिनिधि १० रचना वाचन पनि रहेको उहाँले जानकारी दिनुभयो ।

बहसमा प्रा. डा. द्वय हेमचन्द्र नेपाल र रामप्रसाद ज्ञवाली तथा युग पाठक वक्ता रहनुभएको छ भने राम अविकासले सहजकर्ताको भूमिका निर्वाह गर्नुहुनेछ । गत वर्ष नवोदय विद्यालयले भानु जयन्तीको अवसरमा कविता प्रतियोगिता आयोजना गरेको थियो । कार्यक्रममा सहभागी हुनका लागि नवोदयको पेजमा फारमको लिङक राखिएको छ त्यसैमा फारम भरेर सहभागी हुन सकिन्छ ।

Exit mobile version