हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तामाङ जातिको इतिहास स्थापित भएको बताउनुभएको छ । बिहिबार नेपाल तामाङ घेदुङ संघ मकवानपुरले आयोजना गरेको ९२ औं तामाङ पहिचान दिवसको अवसरमा बोल्नुहुँदै उहाँले अहिले तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशमा तामाङ भाषा सरकारी कामकाजी भाषाको रुपमा कार्यान्वयन भएको भन्नुहुँदै यसले इतिहास स्थापित भएको बताउनुभयो ।
आफु प्रदेशमा आर्थिक मामिला मन्त्री हुँदादेखि नै प्रदेशमा तामाङ र नेपाल भाषालाई सरकारी कामकाजी भाषाको रुपमा कार्यान्वयन गर्न जिम्मेवार भएर लागेको उहाँले बताउनुभयो । प्रदेश सरकारले तामाङ भाषालाई कामकाजी भाषा बनाई इतिहासलाई जोगाउने काम गरेको र यसलाई सम्पत्तिको रुपमा लिनुपर्ने बताउनुभयो । अहिले तामाङको पहिचान सावित भएको भन्नुहुँदै उहाँले यसलाई जोगाउन अझै धेरै काम गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले प्रदेश सरकारले सदनबाट तामाङ र नेपाल भाषा कार्यान्वयनका लागि भाषा अनुवादक राख्ने गरी तयारी गरिरहेको बताउनुभयो । प्रदेशमा पहिलो पटक तामाङले नेतृत्व गर्न पाउँदा सबैमा उमंग छाएको भन्नुहुँदै उहाँले यसलाई निराशामा परिणत हुन नदिने बताउनुभयो । उहाँले सबैको सुझावलाई लिएर काम गर्ने बताउनुभएको छ । कार्यक्रममा घेदुङले मुख्यमन्त्री लामालाई सम्मान गरेको छ । प्रदेशमा पहिलो पटक तामाङ समुदायबाट मुख्यमन्त्री बन्नुभएको भन्दै लामालाई सम्मान गरिएको हो ।

कार्यक्रममा तामाङ संस्कृति झल्किने नृत्य, गीत प्रस्तुत गरिएको थियो । घेदुङले २०८० सालको एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल १५ जना तामाङ विद्यार्थीलाई सम्मान समेत गरेको छ । सम्मानित हुनेमाहरुमा असल पाख्रिन, चाँदनी तामाङ, श्रेय तामाङ, विनिशा तामाङ, वर्षा लामा, कञ्चन स्याङ्तान, आशिष थिङ, ऋषिशन लामा, पियुसा गोले, सेन्जी लामा, रोनिष तामाङ, सिवाङ्गी गोले, निमा थोकर, रविन्द्र तामाङ, प्रशान्त तामाङ र प्रज्वल तामाङ रहेका छन् ।
तामाङ घेदुङ संघ मकवानपुरका अध्यक्ष कालु घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सरकारकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, तामाङ घेदुङ संघका केन्द्रीय सदस्य मेम्बर लो र बागमती प्रदेश अध्यक्ष लिलाकुमार घलान लगायतको आतिथ्य रहेको थियो ।