बागमतीका मुख्य न्यायाधिवक्ता काफ्लेद्वारा शपथ ग्रहण गर्नुहुँदै मुख्य न्यायाधिवक्ता शुकदेव काफ्ले ।

हेटौंडाः बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता शुकदेव काफ्लेले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । बिहीबार प्रदेश प्रमुखको कार्यालय हेटौँडामा नवनियुक्त मुख्य न्यायाधिवक्ता काफ्लेले शपथ ग्रहण गर्नुभएको हो ।

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा र मुख्यमन्त्री बहादुर सिंह लामाको उपस्थितिमा मुख्य न्ययाधिवक्ता काफ्लेले शपथ ग्रहण गर्नुभएको हो । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाले मुख्य न्यायाधिवक्ता काफ्लेलाई शपथ ग्रहण गराउनुभएको हो । भदौ २ गते प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–३ का काफ्लेलाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री लामाको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले काफ्लेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो ।

२५ वर्षदेखि कानून व्यवसायीको रुपमा कार्य गर्दै आइरहनुभएका काफ्लेले यसअघि पूर्व कानून तथा न्यायमन्त्री भीम बहादुर तामाङ र पूर्व महिला तथा समाज कल्याण मन्त्री लिला कोइरालाको सल्लाहकार भएर समेत काम गर्नुभएको थियो । नेपाल बार एसोसिएसनको सदस्य रहनु भएका काफ्ले नेपाल बार एशोसिएसन र काठमाडौं जिल्ला बारका विभिन्न समितिमा संलग्न भई काम गरिसक्नुभएको छ ।