हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा प्रथम संस्करणको जोन स्मृति खुला नकआउट फुटबल प्रतियोगिता आज बुधबारबाट सुरु हुने भएको छ । सयपत्री युवा क्लबको आयोजनामा गाउँपालिका वडा–६ स्थित जोगिताल खेलमैदानमा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडा फुटबल एकेडेमी र नयाँबस्ती एफसीबीच प्रतिस्पर्धा हुनेछ । दुई टिमबीचको खेल ४ बजेबाट सुरु हुनेछ ।

गाउँपालिकाका पूर्वफुटबल खेलाडी जोन राना मगरको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागेको हो । सयपत्री युवा क्लबका पूर्वखेलाडी मगरको विसं २०७२ सालको भूकम्पका कारण निधन भएको थियो । उहाँको सम्झनामा क्लबले पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेको प्रतियोगिता संयोजक केदार योञ्जनले जानकारी दिनुभयो ।

सयपत्री क्लबको नेतृत्व गरेर फरवार्डको भूमिकामा जोनले विभिन्न जिल्लास्तरीय प्रतियोगितामा सहभागी जनाएको योञ्जनले बताउनुभयो । प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भइसकेको संयोजक योञ्जनले बताउनुभयो । प्रतियोगिताको खेलमैदानमा स्टेज व्यवस्थापन, घाँसहरु काट्ने काम र रङ लगाउने सबै काम पूरा भइसकेको उहाँको भनाइ छ ।

यस्तै, प्रतियोगितालाई सफतापूर्वक सम्पन्न गर्नका लागि प्रहरी परिचालन, स्वयम्सेवकको व्यवस्था र मनोज जिम्बाको संयोजकत्वमा सुरक्षा व्यवस्था समिति गठन गरेको छ । प्रतियोगिताका लागि हालसम्म विभिन्न निकायहरुबाट करिब एक लाख ३० हजार रुपैयाँ सहयोग प्राप्त भएको र सहयोग आउने क्रम जारी रहेको उहाँको भनाइ छ ।

प्रतियोगिताको प्रथम पुरस्कारको प्रायोजन स्वर्गीय जोनको दाजु जकै राना मगरले गर्नुभएको छ भने द्वितीय पुरस्कारको प्रायोजन सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहले गरेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, विधागत खेलाडीहरु, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, हाइ स्कोरर, उत्कृष्ट फरवार्ड लगायतका खलाडीहरुले २ हजार रुपैयाँको नगद राशिसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिता आयोजनाका लागि करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । २१ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भदौ १७ गते हुनेछ ।