हेटौंडाः मकवानपुर जिल्लाको स्थानीय तह समन्वय बैठक बिहिबार बसेको छ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले हरेक महिना नियमित रुपमा आयोजना गर्ने समन्वय बैठक बिहिबार बसेको हो ।

जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकमा जिल्ला सभाको तयारी लगायत जिल्लाका विभिन्न स्थानीय तहहरुमा आईपरेका विविध समस्याका विषयमा छलफल गर्नुका साथै विभिन्न विषयमा निर्णय समेत गरेको छ । बैठकमा जिल्लासभाको आयोजना, निजी आवास पुननिर्माण, वैदेशिक रोजगारीबाट फर्किएकाहरुको यकिन तथ्याङ्क विवरण, स्थानीय तहका सूचनाको नियमितता, नदिजन्य पदार्थको स्टक प्रमाणीकरण, होल्डिङ स्टेसन सञ्चालन, शैक्षिक सहयोग अक्षयकोषमा साझेदारी, अनौपचारिक शैक्षिक क्रियाकलाप सञ्चालन, उपभोक्ता हित, जिल्लाको डकुमेन्ट्री निर्माण, गोल्डकप आयोजनामा सहयोग, सहयोगापेक्षी सडकमानव मुक्त बनाउन सहयोग, बालमैत्री स्थानीय तह निर्माण, ऐन नियम, कार्यविधिमा एकरुपता ल्याउने तथा विपद् व्यवस्थापनका विषयमा छलफल भएको जिसस प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।

बैठकमा जिल्ला सभा गर्ने सन्दर्भमा जिससले सूचक बनाएर पठाउने र सोहि अनुसार स्थानीय तहहरुले कार्यान्वयन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । त्यस्तै निजी आवास पुनर्निर्माणका सम्बन्धमा सम्झौता हुन बाँकी लाभग्राहीको छिटो सम्झौता गर्न स्थानीय तहले भूमिका खेल्ने निर्णय गरेको छ । वैदेशिक रोजगारीबाट पर्किएकाहरुको विवरण तयार गर्ने सन्दर्भमा स्थानीय तहले विवरण तयार गर्ने र स्थानीय तहलाई उक्त विवरण तयार गर्न समस्या देखिएकाले आगामी दिनमा विदेश जानेहरुको स्थानीय तहबाट अनिवार्य सिफारिसको व्यवस्थाका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको उहा“ले बताउनुभयो । यस्तै नदिजन्य पदार्थको स्टक प्रमाणीकरणका विषयमा जिल्ला अनुगमन समितिद्वारा गठन गरिएको समितिको बारेमा बैठकमा जानकारी गराईएको छ । अनुगमन समितिको प्रतिवेदनका आधारमा स्टक प्रमाणीकरणको काम अगाडि बढाईने र समितिलाई सहयोग गर्न बैठकमा आग्रह गरिएको छ ।

बैठकले स्थानीय तह तथा विभिन्न संघ, संस्थाहरुको सहयोगमा जिससले संचालन गरेको होल्डिङ स्टेसनले जिल्लामा बैदेशिक रोजगारीबाट फकर्नेहरुलाई सहजता मिलेको र यसलाई नियमित गर्नुपर्ने निर्णय गरेको छ । हालसम्म होल्डिङ स्टेसनबाट जिल्लाका विभिन्न स्थानिय तहका २६४ जनाले सेवा लिएको जानकारी दिनुभयो ।

हालसम्म जिल्लाका ५ वटा स्थानीय तहहरुले निर्णय भए अनुसारको रकम जिससलाई उपलब्ध गराएको सन्दर्भमा बैठकमा उपस्थित स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुले बाँकी स्थानीय तहहरुलाई पनि यथासक्य छिटो रकम उपलब्ध गराउन र होल्डिङ स्टेसनलाई निरन्तरता दिन सुझाव दिएको छ । स्थानीय तहहरुले आवश्यकताका आधारमा स्थानीय तहहरुले थप सहयोग गर्न समेत तयार रहेको र होल्डिङ स्टेसनलाई निरन्तरता दिने छलफलबाट निष्कर्ष निकालेको छ । बैठकले स्थानीय तहमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने विषयमा समेत छलफल गरेको छ । सो विषयमा स्थानीय तहले कुनै न कुनै माध्यमबाट शैक्षिक सिकाईलाई नियमित गर्ने÷गराउने निर्णय भएको छ । स्थानीय तहमा उपभोक्ता हितका विषयमा संयमित भएर लाग्न तथा उपभोक्ताको अधिकार स्थापित गर्न ऐन, नियम, कार्यविधि बनाएर कार्यान्वयन गर्ने निर्णय गरेको छ । बैठकले स्थानीय तहमा सुचना व्यवस्थापनमा ध्यान दिने, मकवानपुर जिल्लाको डकुमेन्ट्री तयार गर्ने, सामाजिक सुधार र बालमैत्री स्थानीय तह निर्माणमा लाग्ने, स्थानीय तह सहिद स्मृति गोल्डकप संचालनमा सहयोग गर्ने, सहयोगापेक्षी सडकमानवमुक्त कार्यमा सहयोग निरन्तरता दिने, विपद् व्यवस्थापनमा समयमै ध्यान दिनेलगायत निर्णय भएको प्रमुख खुलालले जानकारी दिनुभयो ।बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, जिल्लाका १० वटै पालिकाका प्रमुख÷उपप्रमुख, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेल, विभिन्न स्थानिय तहका प्रमुख प्रशासकीय अधिकृत लगायतको सहभागिता थियो ।