हेटौंडाः मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट सर्वसम्मत पारित गरेको छ । गाउँपालिकामा बिहिबार बसेको गाउँसभाले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो । गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ७६ करोड १६ लाख ३५ हजार ४ सय रुपैयाँ बजेट ल्याएको छ ।
गएको असार १० गते गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको सभाध्यक्षतामा बसेको गाउँसभाले आगामी आर्थिक वर्षको बजेट पारित गरेको उपाध्यक्ष विष्टले जानकारी दिनुभयो । उपाध्यक्ष विष्टका अनुसार गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि चालुतर्फ ३१ करोड ५५ लाख ५५ हजार ४ सय २० रुपैयाँ र पुँजिगततर्फ ४४ करोड ६० लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कृषि, स्वास्थ्य, पर्यटन र पुर्वाधारलाई प्राथमिकतामा राख्नुको साथै गाउँपालिकामा ५ वटा पक्की पुल सम्पन्न गर्न बजेट विनियोजन गरेको छ । गाउँपालिकाका विभिन्न ५ वटा खोलाहरुले स्थानीयलाई असजिलो भएकोले पुल निर्माण मुख्य आवश्यकता भएको गाउँपालिकाले जनाएको छ ।
यस्तै मकवानपुर जिल्लाको पूर्विक्षेत्र स्थित बकैया गाउँपालिकाले आज शुक्रबारका लागि गाउँसभाको बैठक बोलाएको छ । बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गर्ने योजना रहेको गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले जानकारी दिनुभयो । आगामी आर्थिक वर्षका लागि बकैया गाउँपालिकाले ६५ करोड १९ लाख ६९ हजारको बजेट ल्याएको छ । मकवानपुरका ४ स्थानीय तहहरुले भने आगामी आर्थिक वर्षको बजेट यसअघि नै पारित गरिसकेका छन् । हेटौंडा उपमहानगरपालिकाले असार १४ गते, थाहा नगरपालिका असार १९ गते, कैलाश गाउँपालिकाले असार १५ गते र राक्सिराङ गाउँपालिकाले असार १६ गते आगामी आर्थिक वर्षको बजेट पारित गरेका हुन् ।
मकवानपुरगढी, बागमती, भिमफेदी र ईन्द्रसरोवर गाउँपालिकाहरुले पनि असार मसान्त सम्ममा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने बताएको छ । आगामी आर्थिक वर्षको लागि ईन्द्रसरोवर गाउँपालिकाले ४४ करोड ४५ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाले कृषि, पर्यटन र स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।