हेटौँडा उपमहानगरपालिका परिसरमा धर्ना दिँदै व्यवसायीहरु ।

हेटौँडाः राजश्ववृद्धिको विषयमा विरोध जनाउँदै आएका व्यवसायीले आज बिहिबार पनि हेटौँडा उपमहानगरपालिकामा धर्ना दिएका छन् । आज बिहान १० बजेदेखि साढे ११ बजेसम्म व्यवसायीले धर्ना दिएका हुन् । हेटौँडा–२ स्थित पल्पसा सदनबाट मैनबत्ती बालेर स्थानीय सरकारका खोज्दै व्यवसायीको र्याली हेटौँडा बजार हुँदै हेटौँडा उपमहानगरपालिकाको कार्यालय पुगेको थियो ।

हेटौँडा उपमहानगरपालिकाको कार्यालय परिसरमा पुगेर व्यवसायीहरुले मैनबत्ती बालेर धर्ना दिएका थिए । उनीहरुले करको नयाँ दर खारेज गर्न, व्यवसायीलाई राहत र सहयोगका कार्यक्रम घोषणा गर्न, उपभोक्ता समितिमार्फत काम गर्ने क्रमलाई रोक्न, स्थानीय सरकारको आयव्यय विवरण सार्वजनिक गर्न माग गर्दै नारा लगाएका छन् । बुधबार बिहान पनि व्यवसायीले हेटौँडा उपमहानगरपालिकाको मूलगेट बाहिर एक घण्टा नारावाजीसहित धर्ना दिएका थिए ।

मकवानपुर उद्योग वाणिज्य संघको समन्वय र सहजीकरणमा विभिन्न व्यावसायिक संघ, संस्थाले सामूहिक रुपमा हेटौँडा उपमहानगरपालिकाले बढाएको करको विरोध गरिरहेका छन् । हेटाँैडा उपमहानगरपालिकाले गत असार ७ गते नगरसभाबाट पारित गरेको नीति, कार्यक्रम तथा बजेटअन्तर्गत करको दरमा अस्वभाविक र उच्च दरमा वृद्धि गरेको भन्दै व्यवसायी आन्दोलित भएका हुन् । हेटौँडा उपमहानगरपालिकाले २६३ प्रतिशतसम्म राजश्वको दर वृद्धि गरेको, नयाँ शीर्षकमा पनि उच्च दर कायम गरेको भन्दै व्यवसायी आन्दोलित भएका हुन् ।

चरम मन्दी, बैंक तथा वित्तीय संस्थाको ऋणको चापका बीच व्यवसायी पलायन भइरहेका बेला स्थानीय सरकारले करको दरमा अस्वभाविक वृद्धि गरेको गुनासो छ । व्यवसायीको आन्दोलित भएसँगै बुधबार नेकपा एमाले सम्वद्ध नगरसभा सदस्यहरुले नगरप्रमुख समक्ष विशेष नगरसभाको माग गर्दै निवेदन दर्ता गराएका छन् । स्थानीय सरकार सञ्चालन ऐनमा एकतिहाई सदस्यले विशेष नगरसभाको आव्हान गरे नगरप्रमुखले १५ दिनभित्र विशेष नगरसभा बोलाउनुपर्ने व्यवस्था छ ।

नगरवासी व्यवसायी आन्दोलित भएपछि नगरप्रमुख र उपप्रमुखले जिम्मेवार भएर व्यवसायीको मागलाई सम्बोधन नगरेकै कारण नगरसभाको बहुमत सदस्य (४८ जना) ले नगरप्रमुख समक्ष विशेष नगरसभाको माग गरिएको ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिनुभएको छ । व्यवसायीको आन्दोलनलाई मकवानपुर २० वटा व्यावसायिक संघ, संस्थाले समर्थन गर्दै ऐक्यवद्धता जनाएको छ ।