पत्रकारसँगको छलफलमा प्रवक्ता सविन न्यौपाने ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौैपानेले चालु आर्थिक वर्षका लागि हेटौँडा उपमहानगरपालिकाले राजश्वको दर औषतमा ५० प्रतिशतले बढाइएको बताउनुभएको छ । हेटौँडा उपमहानगरपालिकाले अस्वभाविकरुपमा राजश्वको दर वृद्धि गरेको भन्दै व्यवसायीले आन्दोलित भइसकेको सन्दर्भमा आज केही पत्रकारहरुलाई उपमहानगरमै बोलाएर करको दरको वृद्धि सम्बन्धमा प्रवक्ता न्यौपानेले स्पष्ट पार्ने प्रयास गर्नुभएको हो ।

गत आर्थिक वर्षमा घरबहाल कर वापत ६ करोड र व्यवसाय कर वापत २ करोड ३२ लाख रुपैयाँ उपमहानगरले आम्दानी गरेको पनि उहाँले जानकारी दिनुभयो । प्रवक्ता न्यौपानेले राजश्व वृद्धि गर्ने सम्बन्धमा राजश्व परामर्श समिति र कार्यपालिका बैठकका निर्णय भने सार्वजनिक गर्न नमिल्ने बताउनुभएको छ । राजश्वको दर बढाउने, नयाँ शीर्षकहरु थप गर्ने प्रक्रियाअन्तर्गत आवश्यक अध्ययन, अनुसन्धानको पक्षका बारेमा पनि प्रवक्ता न्यौपानेले स्पष्ट पार्न सक्नुभएन । व्यवसाय र व्यवसायी चरम मारमा परिरहेका बेला राजश्वको दर बढाउँदा अन्ततः उपभोक्ता नै मारमा पर्ने जोखिमप्रति पनि उपमहानगर जिम्मेवार हुन नसकेको भन्ने प्रश्नमा प्रवक्ता न्यौपाने मौन रहनुभयो ।

नगर उपप्रमुख राजेश बानियाँ भने पत्रकारसँगको छलफलमा सहभागी हुनु भएन । पत्रकारसँगको छलफलमा किन सहभागी नहुनुभएको भन्ने प्रश्नमा उपप्रमुख बानियाँले भन्नुभयो, “प्रवक्ताले नै सम्हालिहाल्छ किन मैले बोल्नुपर्यो र ?” आन्दोलनको घोषणा गरेका व्यवसायीसँग पनि सरसल्लाह भइरहेको उपप्रमुख बानियाँले बताउनुभयो । नगरप्रमुख मीना कुमारी लामा काठमाडौं हुनुभएकोले पत्रकारसँगको छलफलमा सहभागी हुन नपाउनुभएको प्रवक्ता न्यौपानेले स्पष्ट पार्नुभयो ।

हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि राजश्वको दर उच्चतम् रुपमा वृद्धि गरेको भन्दै व्यवसायी आन्दोलित छन् । हेटौँडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष सबैखाले सहकारीसँग दुई हजार पाँच सय रुपैयाँ राजश्व लिएकोमा चालु आर्थिक वर्षका लागि बहुउद्देश्यीय सहकारी संस्थालाई १२ हजार रुपैयाँ (२६३ प्रतिशत बढी) कायम गरेको छ भने बचत तथा ऋण सहकारी संस्थालाई आठ हजार रुपैयाँ (२२० प्रतिशत बढी) कायम गरेको छ । हेटौँडा उपमहानगरले अधिकांश शीर्षकमा ३३, ५०, ६६, १०० प्रतिशतका दरले राजश्वको दरमा वृद्धि गरेको छ ।