कोरोना महामारीको त्रासका बीच पनि २०७७ सालको जेठ अन्तिम साता हेटौंडामा रासायनिक मलका लागि भीडभाड गर्दै किसानहरु । फाइल तस्वीर ।

हेटौंडाः विश्वव्यापी कोरोना भाइरसको महामारीको अहिलेसम्म औषधी पत्ता लाग्न सकेको छैन । त्यसैले अहिले कोरोना भाइरसको संक्रमण नै नहोस् भनी सतर्कता अपनाउनु जरुरी छ । कोरोना भाइरसको संक्रमणको जोखिम न्यून गर्न व्यक्ति व्यक्तिबीचको भौतिक दूरी महत्वपूर्ण मानिँदै आएको छ । यस्तोमा व्यक्ति–व्यक्तिबीचको भौतिक दूरी कायम गर्न जनचेतना अभिवृद्धि गर्न, भौतिक दुरी कायम राख्न प्रोत्साहित गर्नका लागि हेटौंडा अस्पतालले फोटो प्रतियोगिताको घोषणा गरेको छ ।

भौतिक दूरी कायम गरिएको फोटो खिचेर पठाएर प्रतियोगितामा सहभागिता जनाउन सकिने हेटौंडा अस्पतालका प्रमुख डा. प्रविन श्रेष्ठले जानकारी दिनुभएको छ । आगामी शुक्रबारसम्म फोटो पठाएर प्रतियोगितामा भाग लिन सकिने डा. श्रेष्ठले जानकारी दिनुभएको छ । प्रतियोगितामा सहभागिता जनाउन फोटो खिचेर info@hetaudahospital.gov.np मा इमेल गर्न उहाँले आग्रह गर्नुभएको छ । उहाँका अनुसार भौतिक दुरी कायम गरेर फोटो पठाउँदा अधिकतम १० जनासम्म हुनुपर्ने तथा ४ देखि ६ जनासम्म उत्कृष्ट हुने बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट फोटो पठाउने एकजनालाई नगद ५ हजार रुपैयाँसहित पुरस्कृत गरिनेछ ।

यसअघि हेटौंडा अस्पतालले मास्कको प्रयोगलाई प्रोत्साहन गर्न भन्दै मास्क प्रतियोगिताको आयोजना गरेको थियो । मास्क प्रतियोगितामा १ सय जनाले सहभागिता जनाएका थिए । मास्क प्रतियोगितामा सहभागीको ३ जनाको निर्णायक समितिले नतिजा तयार पारेका थिए । जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्ट, हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेल र मुख्यमन्त्री कार्यालयका सचिव रहनुभएको थियो । उहाँहरुले ५ जना मध्ये उत्कृष्ट भएका ३ जनालाई मास्क प्रतियोगिताका विजेता घोषणा गर्नुभएको थियो । उत्कृष्ट हुनेले नगद पाँच हजार प्राप्त गरेका थिए ।