हेटौंडाः प्रधानमन्त्री कृषि आधुनिकीरण कार्यक्रम अन्तर्गत आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२, आलदमारमा रहेको लोकतान्त्रिक कृषि सहकारी संस्था लिमिटेडलाई अनुदानको उपकरण हस्तान्तरण गरिएको छ । बागमति प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि ज्ञानकेन्द्र चितवनमार्फत ५० प्रतिशत अनुदानमा कृषि उपकरण हस्तान्तरण गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले सहकारीका अध्यक्ष भगिरथ नेपाललाई उपकरण हस्तान्तरण गर्नुभएको हो । कृषि ज्ञानकेन्द्रमार्फत सहकारीलाई एउटा ट्याक्टर, एउटा धान चुट्ने थ्रेसर, एउटा रोडा भेटर, एउटा ट्रिलर ५० प्रतिशत अनुदानमा हस्तान्तरण गरिएको हो । २८ लाख २४ हजार रुपैयाँ लागतका कृषि औजार खरिदका लागि ५० प्रतिशत सहकारी संस्थाको लागत सहभागिता रहेको छ । उपकरण हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा अध्यक्ष ललित घलान, वडा सदस्यहरु भुवन खनाल, ज्ञानबहादुर श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गोपालप्रसाद बगाले, कृषि शाखाका प्रमुख दुर्गाप्रसाद न्यौपानेको उपस्थिति रहेको थियो ।
यसैबीच हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग एवम् संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक एवम् प्राविधिक सहयोगमा नगरका विभिन्न वडाहरुमा निर्माण भएका ७१ वटा अर्गानिक प्लाष्टिक घर (टनेल हाउस) को अनुगमन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाको नेतृत्वमा हेटौंडा ६, ७, ११, १२, १३, १६ र १७ नम्बर वडामा निर्माण भएका प्लाष्टिक घरहरुको अनुगमन गरिएको हो । अनुगमनमा कृषि प्राविधिक एवम् वडा क्षेत्र हेर्ने प्राविधिक, युएनडिपीसँगको साझेदारमा कार्य गर्ने दुईवटा स्थानीय साझेदार संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।